१५ दिनभित्र बैंकको ब्याज नघटे आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी



काठमाडौं । बैंकहरुले तत्काल ऋणको ब्याजदर नघटाए देशभरका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब्याज घटाउनका लागि राष्ट्र बैंक र सरकारलाई १५ दिनको अल्टिमेटम दिएकी छन् ।

‘१५ दिनभित्र व्यवसायीको माग सम्बोधन भएन भने हामी देशभर एकैपटक आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ अध्यक्ष राणाले बिराटनगरमा आयोजित ब्याजदर घटाउने छलफलमा अध्यक्ष राणाले चेतावनी दिइन् ।

केही समययता बैंकको ब्याजदर घटाउन माग गर्दै बिराटनगरका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतका प्रतिनिधि, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, मोरङका उद्योगीहरु र प्रदेश सरकारका प्रतिनिधिबीच बिराटनगरमा ब्याजदर सम्बन्धी वार्ता भएको थियो ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ उत्पादनमूलक औद्योगिक क्षेत्रको कर्जाको ब्याजदर ७ र व्यापार व्यवसायको ९ प्रतिशत कायम गरिनु पर्ने भन्दै माघ १३ गतेदेखि आन्दोलनमा छन् ।

उद्योगी व्यवसायीको आन्दोलनले अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत तनाव दिएपछि केहीदिन अघि बैंकर, ब्यवसायी र राष्ट्र बैंकका प्रतिनिधिलाई बोलाएर अर्थ मन्त्रालयमा छलफल गरेका थिए ।

नेपालले खुला बजार अर्थतन्त्रलाई अपनाएका कारण ब्याजदरमा राष्ट्र बैंकले सीधै हस्तक्षेप गर्न नमिल्ने बताएका थिए ।

‘राष्ट्र बैंकले बैंकहरुको ब्याजदर यति हुनुपर्छ भनेर तोक्न मिल्दैन,’ डेपु्टी गभर्नर शिवाकोटीले भने, ‘हामीले स्प्रेडका माध्यमबाट ब्याजदरलाई नियन्त्रण गर्छौं । हामीले प्रत्येक वर्ष बैंकहरुको स्प्रेड घटाउँदै लगेका पनि छौं ।’

बजारमा तरलता अभाव भएका कारण ब्याजदर बढी भएको जानकारी गराउँदै तरलता सहज हुनेवित्तिकै ब्याजदर घटिहाल्ने बताए ।

‘सरकारले पुँजीगत खर्च बढाउन सक्यो भने पर्याप्त तरलता हुन्छ, तपाईंहरुले सरकारलाई पनि दबाब दिनुहोस्’ उनले सुझाब दिए ।

डेपुटी गभर्नर शिवाकोटीको जवाफले आफूहरुको समस्या समाधान नगर्ने भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका थिए । व्यवसायीले असन्तुष्टि जनाएपछि छलफलमा सहभागी महासंघी अध्यक्ष राणाले १५ दिने अल्टिमेटम दिएकी हुन् ।


पुष्प दुलाल