डोनाल्ट ट्रम्प विरुद्ध ह्वाइट हाउस अगाडि नेपालीले गरे आन्दोलन (फोटोफिचर)




बाल्टिमोर । ह्वाईट हाउस अर्थात अमेरिकी राष्ट्रपतिको सरकारी कार्यालय । यहाँको राजधानी वासिङ्टन डिसीमा रहेको सोही सरकारी कार्यालय अगाडि मंगलबार भने नेपालमय भयो । संयोगले पुर्वराष्ट्रपति अब्राहम लिंकनको जन्मदिन मै नेपाली र अन्य मुलुकमा नागरिकले प्रदर्शन गर्दै अधिकार मागेका हुन् ।

मुसलधारे पानी परिरहेको राजधानी डिसीलाई नेपालको झण्डा र पहिचान सहित नेपालमय बनाएका नेपालीले नेपालमा जस्तै नाराबाजी गर्दा नेपालीलाई होन्डुरसका नागरिकहरुको पनि साथ रहेको थियो ।

नेपाल र होन्डुरसका नागरिकले टिपिएस ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’ अर्थात अस्थाई बसोबास सुविधा खारेज नगर्न माग गर्दै आन्दोलन गरेका हुन् । मंगलबार भएको ¥यालीमा सयौं नेपालीले राजधानीको विभिन्न भाग परिक्रममा गर्दै ह्वाईटहाउस अगाडि प्रदर्शन गर्दा विदेशीहरु भने रमिते बनाएका थिए ।

नेपाली टीपीएस वाहक, समर्थक र अधिकारकर्मीहरुको उपस्थितिमा गरिएको कार्याक्रममा टीपीएसका पक्षमा नारावाजी गर्दै स्थाई समाधान दिन अमेरिकी सरकारसंग माग गरेका छन् ।

टीपीएस एलाइन्स नाम दिईएको अभियानको आयोजनामा गरिएको दबाबमुलक कार्याक्रममा नेपालीको पक्षमा आवाज उठाउँदै आएको अधिकार नामक नेपालीको संस्था नेपालीको तर्फबाट प्रतिनिधित्व गरेको थियो । प्रदर्शनमा नेपाली र नेपालीभाषीको साथै नेपाल जस्तै टिपिएसको अधिकारबाट बन्चित हुन लागेका होन्डुरसका नागरिकहरुले पनि प्रदर्शन गरेका थिए ।

यसअघि २०७२ बैशाख १२ को महाभुकम्पपछि अमेरिकामा गैरकानुनी रुपमा रहेका नेपालीहरुलाई यहाँको संरकारले तत्कालको लागि बस्न र काम गर्न पाउनेगरी टिपिएसको व्यवस्था गरेको थियो । जसबार १५ हजार नेपाली नागरिक लाभांन्वित भएका बताईएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार जुन सुविधा जुन २४बाट थपिने छैन ।

अमेरिकाले प्राकृतिक विपत्ती, सैनिक विद्रोह एवम हिंसात्मक गृह युद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकहरुलाई मानवीय सहयोगको लागि भन्दै टिपीएसको व्यवस्था गरेको छ । नेपाल जस्तै अमेरिकाले सन २००१ मा आएको भूकम्पको बेला एल साल्भाडोर, सन् २०१० मा हैटीलाई, समुद्री आँधी कारण सन १९९८ मा होण्डुरसलाई, गृह युद्वका कारण सन २०१२ मा सिरियाका नागरिकलाई यो सुविधा दिएको थियो ।

अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि भने नेपाली सहित अन्य देशका नागरिकहरुलाई दिएको टिपिएसको सुविधा नविकरण नगर्ने घोषणा ट्रम्प प्रशासनले गरेको छ । यदि टिपिएस नविकरण नभए यसै वर्षको जुन २४ मा नेपालीहरुको टीपीएसको अवधी समाप्त हुनेछ ।

ट्रम्पविरुद्ध नेपालीको मुद्दा

यसैबीच पहिलो पटक अमेरिकामा रहेका नेपालीले अमेरिकी सरकारको विरुद्धमा यहाँको एक अदालतमा मुद्दा दायर गरेका छन । मंगलबार प्रदर्शन सहभागि भएकै देश नेपाल र होण्डुसरका नागरिकहरुको समुहले टीपीएस समाप्त नगर्न माग गर्दै नर्दन क्यालिफोर्नियाको एक अदालतमा ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर गरेको हो ।

नेपालीको तर्फबाट केशव भट्टराई, सज्जन भट्टराई र सुम्निमा थापाले मुद्दा दायर गरेका हुन् । जसमा नेपाललाई दिईएको सुविधा नखोस्न माग गरिएको छ ।

गत वर्ष मात्रै क्यालिफोर्नियाकै एक संघीय अदालतले एल साल्भाडोर, हैटी, र सुडानको टीपीएस अन्त्य नगर्न आदेश जारी गरेपछि सोही प्रक्रियालाई टेक्दै नेपाली र होन्डुरसका नागरिकले मुद्दा दायर गरेका हुन ।

फोटो ः प्रदिप परियार थापा


पुष्प दुलाल