आक्रमक बजार विस्तारमा डिसहोम, इन्टरनेट सेवा दिन २ अर्ब लगानी थप्दै



काठमाडौं । डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालि आक्रमक बजार बिस्तारमा लागेको छ ।

स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको डिशहोमले सवा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी थप गर्न लागेको हो ।

गाउँगाउँमा टेलिभिजन सेवा पुर्याएर सफलता कमाएको डिश होमले दुर्गम ठाउँमा पनि स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउन लागेको हो ।

कम्पनीले केयर नेपालबाट २ अर्ब २२ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ ।

डिश मिडियाले ४४ करोड ८४ लाख रुपैयाँ दीर्घकालिन रुपमा ऋण लिन खोजेको छ भने १ अर्ब ७८ करोड रुपैयाँ अल्पकालिन अवधीको लागि ऋण लिन खोजेको छ ।  केयर नेपालले दीर्घकालिन रुपमा लिन खोजेको ऋणलाई ट्रिपल बी र अल्पकालिनको लागि ट्रिपल ए रेटिङ दिएको छ ।

‘खासगरी हामी इन्टरनेट सेवा विस्तार गर्ने सोचमा छौं, त्यसका ठूलो लगानी चाहिने भएकाले ऋणको रेटिङ गराएका हौं,’ डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले क्लिकमाण्डूसँग भने ।

सिंहदरबारको अधिकार स्थानीय तहमार्फत् गाउँगाउँसम्म पुगेसँगै सिंहदरबारको सुविधा पनि गाउँगाउँसम्म पुर्याउन आफूहरु लागि परेको आचार्यले बताए ।

‘हामी इन्टरनेट सेवा प्रदायकलाई एक्वायर गर्ने तयारी गरिरहेका छौं, केही सेवा प्रदायकसँग कुरा शुरु भइसकेको छ,’ उनले भने ।

स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउने विषयमा केही अध्ययन गर्दा लागत अलि महंगो देखिएको आचार्यले बताए । त्यसैले अहिले आफूहरु सस्तो लागतमै कसरी सेवा दिन सकिन्छ भनेर अध्ययन गरिरहेको उनले सुनाए ।

प्रवन्ध निर्देशक आचार्यका अनुसार स्याटालाइटबाट उपलब्ध गराउने सेवा खोला जस्तो एकनासले बग्ने भएकाले त्यो खपत भएन भने कम्पनीलाई नोक्सान हुन्छ । जसकारण पनि सेवा महंगो पर्न गएको हो । तर, गाउँगाउँमा ५०/६० घर बनाएर एक प्वाइन्टमार्फत् त्यहाँ सेवा दिने मोडालिटिमा काम अघि बढाइएको छ ।

यसै मोटालिटीमा सेवा दिनका लागि विदेशी कम्पनीसँग सहकार्य गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रबन्ध निर्देशक आचार्यका अनुसार निकट भविष्यमै कुनै दुर्गम गाउँमा पाइलट प्रोजेक्टको रुपमा परिक्षण गरिने छ ।

‘परिक्षण सफल भएपछि सेवा विस्तार गर्नतर्फ लागिने छ,’ उनले भने ।

आचार्यका अहिले पनि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । तर, त्यसको लागत अहिले अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिने शुल्कभन्दा दोब्बर बढी महंगो देखिएकाले  कसरी सस्तो मूल्यमा सेवा दिन सकिन्छ भनेर लागि परेको उनले सुनाए ।

सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारी नीति अनुसार करिब ६ सय स्थानीय तहमा बैंक पुगिसकेका छन् । त्यसैगरी, सरकारले प्रत्येक स्थानीय तहमा श्रम एजेन्ट स्थापना गर्ने उद्देश्य राखेको छ । र, स्थानीय सरकारलाई पनि इन्टरनेट आवश्यक पर्छ । यीनै कुरालाई मध्यनजर गर्दै र गाउँगाउँका जनतालाई इन्टरनेटको पहुँचभित्र ल्याउनका लागि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।

शहरी इलाकामा भने सिम टीभीका माध्यमबाट तारमार्फत् इन्टेरनेट सेवा दिने काम शुरु गरिसकिएको आचार्यले जानकारी दिए ।

डिश होम सञ्चालन गरेको ९ वर्ष भयो । डिशहोमले नेपाली टेलिभिजनको दुनियाँमा नयाँ क्रान्ति नै गरेको छ । टेलिभिजन सेवामा राम्रो सफलता पाएपछि डिशहोम इन्टरनेट सेवा दिन तातिएको हो ।

‘डिशहोमले पनि आफ्ना प्रोडक्टहरु थप्नुपर्ने छ,’ आचार्यले भने, ‘त्यसका लागि पनि लगानी बढाउनु पर्ने छ ।’


पुष्प दुलाल