महालक्ष्मी लाईफको तीनवटा बीमा योजना सार्वजनिक, ५ महिनामा ५० करोड बीमा शुल्क आर्जन गर्ने लक्ष्य



काठमाडौं । नेपालको कान्छो जीवन बीमा कम्पनीको रुपमा कारोबार सुरु गर्न गइरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सुरु नगर्दै तीनवटा बीमा योजना सार्वजनिक गरेको छ ।

महालक्ष्मीले माघ २७ गते आइतबा वसन्त पञ्चमीको दिनबाट विधिवत् रुपमा कारोबार संचालन गर्न गइरहेको छ । कारोबार शुभारम्भ सँगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना बिक्रि गर्ने भएको छ ।

कम्पनीले पत्रकार सम्मेलन गरेर महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ । दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ ।

तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमा शुल्कमा सुरक्षा पनि पाइने,बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ । उपरोक्त तीनवटा बीमा योजनामध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौला बीमा योजना भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साताभित्र कारोबार संचालनको तैयारीमा छ ।कार्यालय सजावट सकिएलगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकै पटकऔपचारिक समुद्घाटनको तैयारी भइरहेको छ ।

२ अर्ब चुक्ता पुँजी रहेको कम्पनीमा संस्थापकको १ अर्ब ४० करोड तथा सर्वसाधारणको ६० करोड सेयर लगानी हुने छ ।

कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र सञ्चालकहरु उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा छन् ।


क्लिकमान्डु