विदेशी सन्चिती बचाउन विदेश भ्रमण र आयातमा कडाई गर्ने अर्थमन्त्रीको घोषणा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी सन्चिती बचाउनको लागि विदेश भ्रमण र आयातमा कडाई गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा सांसद्हरुसँग भएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा खतिवडाले बहुराष्ट्रिय कम्पनीले कर्मचारीलाई गराउने विदेश भ्रमण रोक्ने बताए ।

नेपाली कांग्रेसका सांसद् लिला संग्रौलाले बहुराष्ट्रिय कम्पनीले अत्याधिक विदेश भ्रमण गराएर पैसा विदेश लगेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले भने, ‘ विदेश भ्रमणमा जादा २५ सय अमेरिकी डलरबाट १५ सय पाउने व्यवस्था गरिएको छ । बहुराष्ट्रिय कम्पनीले गराउने विदेश भ्रमणमा समेत कडाई गर्न त्यस तर्फ गएका छौ।’

बीमा समितिले बीमा अभिकर्तालाई गराउने विदेश भ्रमण रोकिसकेको छ ।

अर्थमन्त्री खतिवडाले तत्कालको लागि १५ सय अमेरिकी डलरभन्दा कम सटही सुविधा दिने नीति भने नरहेको बताए ।

नेपाली कांग्रेसका सांसद् गगन थापाले विदेश जादा सटही सुविधा घट्दा जनताले दुःख पाएको बताएका थिए । त्यसको जवाफ दिदै अर्थमन्त्री खतिवडाले भने,‘जसरी हामीले विलासिताका वस्तु आयातमा निरुत्साहित गर्ने भनेका छौ,त्यो गरेर अनावश्यक विदेश भ्रमणलाई पनि निरुत्साहित गर्नुपर्छ।’

अर्थमन्त्री खतिवडाले नेपालीको औसत आम्दानीभन्दा बढी विदेश भ्रमणमा जादा सटही सुविधा आवश्यक भएको वा नभएकोमा पनि अध्ययन गर्नु आवश्यक भएको बताए ।

यस्तै अर्थमन्त्री खतिवडाले बिलासिताको वस्तु आयातलाई निरुत्साहित गर्नको लागि चालु आर्थिक वर्षको बजेटमा नै भन्सार बढाउने र त्यसको मूल्यांकन बढाउने काम भएको भन्दै यसलाई थप बढाउने बताए ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५३ वटा स्थानिय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने जानकारी अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभामा दिए ।


क्लिकमान्डु