बैंकको ब्याजदर नघटेपछि तातिए अर्थमन्त्री, भने- कसरी घटाउन सकिन्छ ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणमा लिने ब्याजदर नघटाएपछि अर्थमन्त्री डा युवराज खतिवडा तातिएका छन् । उनले यसलाई समाधान गर्नको लागि सरोकारवालाई बोलाएर छलफल गरेका छन् ।

अर्थमन्त्री खतिवडाले मंगलबार राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल सहित राष्ट्र बैंकका दुईवटै डेपुटी गभर्नर निजी क्षेत्रका उद्योगी व्यवसायी तथा बैकर्स संघका अध्यक्षसँग बैंकको ब्याजदरको विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्री खतिवडाले उच्च स्तरिय वित्तीय क्षेत्र समन्वयन समितिको बैठकमा उद्योगी व्यवसायी सहित बैंकरलाई बोलाएर छलफल गरेका हुन् ।
देशभरका उद्योग व्यवसायीहरु बैंकको ब्याजदर बढी भएको भन्दै आन्दोलनमा उत्रेका छन् । यसलाई उद्योग वाणिज्य महासंघ तथा निजी क्षेत्रका अन्य संस्थाले नैतिक समर्थन समेत जनाएका छन् ।

अर्थमन्त्री खतिवडाले ब्याजदर कसरी घटाउन सकिने बारेमा सहभागीलाई प्रश्न सोधेका थिए । उनले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षामा बैंकहरुले निक्षेप र कर्जामा लिने ब्याजदरको फरकलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न समेत सुझाव दिएका थिए ।

अर्थमन्त्रालय र राष्ट्र बैंकको पहलमा बैंकहरुले निक्षेपमा एकल अंकको भद्र सहमति गरेका छन् । लागत घटेपनि बैंकमा ऋण दिने पैसा नभएको कारण ऋणको ब्याजदर घटेको छैन ।

ऋणको ब्याजदर नघटेको र ऋण समेत सहज रुपमा पाउन सक्ने अवस्था अहिले रहेको छैन ।

यस्तै अर्थमन्त्री डा खतिवडाले बैदेशिक आन्तरिक लगानी घटेको विषयमा समेत गम्भिर चासो दिएका छन् । अर्थमन्त्री खतिवडाले गभर्नर नेपाललाई बैदेशिक लगानीको स्वीकृति दिदा प्रक्रिया सहज बनाउन भनेका थिए ।

अघिल्लो वर्षको तुलनामा अहिले बैदेशिक लगानी घटेको छ ।

अर्थमन्त्रीले बोलाएको बैठकमा बैठकमा राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी, शिवराज श्रेष्ठ उद्योग सचिव यामकुमारी खतिवडा सहित अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे सहभागी थिए ।

यस्तै निजी क्षेत्रको तर्फबाट उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांना सहभागी थिए ।

बैठकमा उद्योगी व्यवसायीले ऋणको ब्याजदर अत्याधिक बढी भएको तथा सहज रुपमा ऋण पाउन नसकिएको अवस्थाको बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।


क्लिकमान्डु