कर्मचारीलाई गाडी सुविधा दिनेमा नेशनल लाइफ र सगरमाथा इन्स्योरेन्स अगाडि, यस्तो छ कम्पनीगत विवरण



काठमाडौं । बीमा कम्पनीमा कर्मचारीलाई गाडी सुविधा दिनेमा नेशनल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ ।

बीमा कम्पनीले बीमा समितिमा बुझाएको विवरण अनुसार नेशनल लाइफ इन्स्यारेन्सले ३२ जना कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको छ ।

कम्पनीले ३० जना कर्मचारीलाई गाडी किन्नको लागि ऋण दिएको छ भने दुईवटा गाडी बरिष्ठ कर्मचारीलाई उपलब्ध गराएको देखिन्छ ।

यस्तै निर्जीवन बीमा कम्पनीमा कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराउनेमा सगरमाथा इन्स्यारेन्स अगाडि देखिएको छ ।

सगरमाथा इन्स्यारेन्सले २४ जना कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको छ ।

बीमा कम्पनीहरुमा गाडी सुविधा दिएर कर्मचारी तान्ने प्रतिस्पर्धा तीब्र भएपछि नियामक बीमा समितिले बीमा कम्पनीहरुसँग गाडीको विवरणसँगै ककसले गाडी सुविधा पाएका छन् भनेर विवरण मागेको थियो ।

‘बीमा कम्पनीहरुबीच गाडी दिएर कर्मचारी तान्ने प्रतिस्पर्धा अत्यन्तै बढी भयो, त्यसैले हामीले नजर लगाएका हौं,’ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले क्लिकमाण्डूसँग भने ।

समितिले बीमा कम्पनीका सीइओ र सञ्चालकहरुलाई नयाँ गाडी नकिन्न मौखिक निर्देशन दिइसकेको छ । तर, प्रमुख कार्यकारी अधिकृत र बिजनेश प्रमोशनका लागि भने गाडी किन्नका लागि समितिले स्वीकृति दिने चापागाईंले बताए ।

‘सीइओ र बिजनेश प्रमोशनका लागि चाहिने गाडीमा हामीले केही भनेका छैनौं, तर एउटै कम्पनीलाई १०/१५ वटा गाडी किन चाहियो ? भन्ने हाम्रो प्रश्न हो,’ उनले भने, ‘कर्मचारीपिच्छे गाडी दिनुभन्दा आवश्यकता अनुसार मिलाएर चढे हुँदैन र ?

गाडीको आवश्यक पर्ने कर्मचारीलाई मात्रै गाडी दिनुपर्ने उनको भनाई थियो ।

‘कुन स्तरको कर्मचारीलाई गाडी दिने भन्ने त कम्पनीहरुले पनि कार्यविधि बनाउनुपर्यो नि,’ उनले भने ।

आयात बढेका कारण मुलुकको भुक्तानी सन्तुलन ५ महिनामै ८५ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक भएको छ । त्यसैले सरकारले महंगा गाडी लगायतका विभिन्न वस्तुहरुको आयात नियन्त्रण गर्ने नीति लिएको छ ।

‘अनावश्यकरुपमा गाडी किनेर मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक बनाउनु हुँदैन, हामीले पनि सरकारको नीतिलाई सहयोग गरेका हौं,’ चापागाईले भने ।

यस्तो छ कम्पनी अनुसारको विवरण

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले १५ जना कर्मचारीलाई सुविधामा गाडी दिएको छ । कम्पनीले ५० लाख रुपैया मूल्य पर्ने देखि लिएर १७ लाख रुपैयाँपर्नेसम्म गाडी सुविधामा उपलब्ध गराएको छ ।

यसमा केही रकम बीमा कम्पनीले दिएको छ भने बाँकी रकम कर्मचारीले आफुले बेहोरेको देखिन्छ । यस्तै एशियन लाइफ इन्स्योरेन्सले ७४ जना कर्मचारीलाई सुविधामा मोटरसाइकल÷स्कुटर दिएको देखिन्छ ।

आइएमई लाइफ इन्स्यारेन्स

आइएमई लाइफ इन्स्योरेन्सले १२ जना कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको छ । २० जना कर्मचारीलाई कम्पनी मोटरसाइकल उपलब्ध गराएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले ५ जना कर्मचारीलाई गाडी सुविधा दिएको छ । मोटरसाइकल सुविधा दिनेमा भने कम्पनी सबैभन्दा अगाडि छ । कम्पनीले ११७ जना कर्मचारीलाई मोटरसाइकल सुविधा उपलब्ध गराएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफले बीमा समितिमा बुझाएको विवरणमा कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको देखिएको छैन । २१ जना कर्मचारीलाई भने सुविधामा मोटरसाइलक उपलब्ध गराएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सले चार जना कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको छ । यस्तै ९ जना कर्मचारीलाई मोटरसाइकल उपलब्ध गराएको देखिएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स

रिलायबलले पाँच जना कर्मचारीलाई गाडी दिएको छ । यस्तै ३६ जना कर्मचारीलाई मोटरसाइकल दिएको देखिन्छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स

सिटिजन्स लाइफले प्रमुख कार्यकारी अधिकृत बाहेक अरुलाई गाडी दिएको छैन । मोटरसाइकल समेत दुईजना कर्मचारीलाई दिएको छ । कर्मचारीलाई कम सवारी उपलब्ध गराउनमो सिटिजन्स लाइफ देखिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

कर्मचारीलाई गाडी सुविधा बढी दिनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले ३० जना कर्मचारीलाई गाडी किन्न ऋण दिएको छ । दुईवटा गाडी सुविधामा उपलब्ध गराएको देखिन्छ । यस्तै ४४ जना कर्मचारीलाई मोटरसाइकल दिएको छ ।

गुँरास लाइफ इन्स्योरेन्स

गुँरास लाइफ इन्स्योरेन्सले सात जना कर्मचारीलाई गाडी सुविधा दिएको छ । ६९ जना कर्मचारीले मोटरसाइकल सुविधा लिएका छन् ।

युनियन लाइफ इन्स्योरेन्स

युनियनले १७ जना कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको छ । यस्तै सात जना कर्मचारीलाई मोटरसाइकल उपलब्ध गराएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले चारजना कर्मचारीलाई ऋण सुविधामा गाडी दिएको छ । मोटरसाइकल भने नदेखिएको बीमा समितिलाई बुझाएको विवरणमा उल्लेख छ ।

एभरेष्ट इन्स्योरेन्स

एभरेष्टले चारजना कर्मचारीलाई सुविधामा गाडी दिएको छ । यस्तै १९ जना कर्मचारीलाई मोटरसाइकल दिएको छ ।

अजोड इन्स्योरेन्स

अजोडले दुईजना कर्मचारीलाई गाडी र चारजना कर्मचारीलाई मोटरसाइकल दिएको छ ।

सगरमाथा इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सले २४ जना कर्मचारीलाई सुविधामा गाडी दिएको छ । यस्तै ७९ जना कर्मचारीलाई मोटरसाइकल दिएको छ ।

युनाइटेड इन्स्योरेन्स

युनाइटेडले ९ जना कर्मचारीलाई गाडी उपलब्ध गराएको छ । यस्तै ३१ जना कर्मचारीलाई मोटरसाइलक दिएको देखिन्छ ।

सानिमा इन्स्योरेन्स

सानिमा इन्स्योरेन्सले पाँच जना कर्मचारीलाई गाडी दिएको छ । ३ जनालाई मोटरसाइकल दिएको छ ।

नेको इन्स्योरेन्स

नेको इन्स्योरेन्सपनि सुविधामा गाडी दिनेमा निकै नै अगाडि छ । नेकोले १६ जना कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको छ । यस्तै ४५ जना कर्मचारीलाई सुविधामा मोटरसाइकल उपलब्ध गराएको छ ।

हिमालयन जनरल

हिमालयन जनरलले सात जना कर्मचारीलाई गाडी दिएको छ । २४ जना कर्मचारीलाई मोटरसाइकल दिएको छ ।

बीमा कम्पनी लिमिटेड

बीमा कम्पनी लिमिटेडले ८ जना कर्मचारीलाई गाडी सुविधा दिएको छ । १४ जनालाई मोटरसाइकल सुविधा दिएको छ ।

सिदार्थ इन्स्योरेन्स

सिदार्थ इन्स्योरेन्सले २३ जना कर्मचारीलाई सुविधामा गाडी उपलब्ध गराएको छ । मोटरसाइल भने ४६ जना कर्मचारीलाई दिएको छ ।

शिखर इन्स्योरेन्स

शिखरले सुविधामा ९ जना कर्मचारीलाई गाडी सुविधा दिएको छ । ३० जना कर्मचारीलाई मोटरसाइकल सुविधा दिएको छ ।

प्रभु इन्स्योरेन्स

एकजनालाई मात्र प्रभु इन्स्योरेन्सले गाडी सुविधा दिएको छ । १९ जनालाई मोटरसाइकल सुविधा प्रभु इन्स्योरेन्सले दिएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स

प्रुडेन्सियल इन्स्योरेन्सले १३ जना कर्मचारीलाई गाडी सुविधा दिएको छ । यस्तै २२ जनालाई गाडी सुविधा दिएको छ ।

आइएमई जनरल

आइएमई जनरल इन्स्योरेन्सले ६ जना कर्मचारीलाई गाडी दिएको छ । यस्तै ७ जनालाई मोटरसाइकल सुविधामा दिएको विवरण समितिमा पेश गरेको छ ।

ओरियन्टल

ओरियन्टल इन्स्योरेन्सले दुईजना कर्मचारीलाई मात्र गाडी सुविधा दिएको विवरण समितिमा दिएको छ ।

प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सले १६ जना कर्मचारीलाई सुविधामा गाडी दिएको छ । विवरणमा मोटरसाइकलको बारेमा उल्लेख छैन ।

नेशनल इन्स्योरेन्स

नेशनल इन्स्योरेन्सले दुईजना कर्मचारीलाई मात्र गाडी दिएको छ । मोटरसाइकलको विवरण उल्लेख छैन ।

नेपाल इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सले १३ जना कर्मचारीलाई गाडी सुविधा उपलब्ध गराएको छ । मोटरसाइकलको विषय उल्लेख छैन ।

एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सले ३० जनालाई गाडी उपलब्ध गराएको छ । २२ जनालाई मोटरसाइकल उपलब्ध गराएको छ ।


पुष्प दुलाल