१० % सेवा शुल्क खारेज गर्ने देशभरका रेस्टुरेन्टमा मजदुर हड्ताल, आजै त्रिपक्षीय वार्ता



काठमाडौं । रेष्टुरेन्टहरुले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेजी गर्ने निर्णयको विरुद्धमा रेस्टुरेन्टमा कार्यरत मजदुरहरुले हड्ताल शुरु गरेका छन् ।

मजदुर संगठनले आज (मंगलबार) देखि देशभरका रेष्टुरेन्टहरु बन्द गराएका छन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत सेवा शुल्क खारेजी गर्ने निर्णय गरेको थियो ।

मजदुरहरुले सेवा शुल्क लिने रेष्टुरेन्टहरु बन्द नगर्ने जनाएका छन् । तर, जुन रेस्टुरेन्टले सेवा शुल्क लिँदैन त्यो रेस्टुरेन्ट बन्द गर्ने मजदुरहरुको भनाई छ ।

तत्कालीन एमाले निकट होटल तथा क्यासिनो एन्ड रेष्टुरेन्ट मजदुर संगठनका महासचिव लक्ष्मण तिवारीले र तत्कालीन माओवादी निकट अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संगठनका महासचिव मुक्ति दाहालले रेबानको निर्णय लागू गर्न नदिने बताए ।

सेवा शुल्क वापतको ६८ प्रतिशत मजदुर र ३२ प्रतिशत रेष्टुराँ संचालकहरूले लिँदैं आएका छन् । सेवा शुल्क खारेजी गर्ने रेवानको निर्णयले रेष्टुराँमा उपभोक्तालाई ‘मेनु’ मा १० प्रतिशत भार कम हुने भएको थियो ।

सेवा शुल्क कटौतिको विरुद्ध तत्कालिन एमाले, माओवादी र कांग्रेस निकट मजदुर संगठनहरुले संयुक्त रुपमा हड्तालमा उत्रिएका हुन् ।

रेबानका अनुसार देशभरका २५ सय रेष्टुरेन्टमा बन्दको प्रभाव पर्ने छ ।

तत्कालिन माओवादी र अन्य मजदुर संगठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो ।

श्रम विभागले रेबान र मजदुर संगठनलाई मंगलबार दिउसो ३ बजे वार्ताका लागि विभागमा बोलाएको छ ।


पुष्प दुलाल