पार्क बनाउन काठमाडौं महानगरले १० नगरपालिकालाई १० करोड रुपैयाँ दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लामा रहेका नगरपालिकाहरुलाई हरियाली पार्क निमार्णको लागि १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

काठमाडौं जिल्लाको १० वटा नगरपालिकालाई १ करोडको दरले कुल १० करोड रुपैयाँ महानगरपालिकाले सहयोग गर्न लागेको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।

काठमाडौं महानगरपालिका मात्र राम्रो भएर हुदैन, वरिपरिको नगरपालिका पनि राम्रो हुनुर्पछ भन्ने अवधारणाका साथ हरियालीे पार्क निर्माणको लागि सहयोग गर्न लागिएको महानगरपालिकाको भनाई छ ।

‘रकमको आकार ठूलो होइन, नगरपालिकासँगको सहकार्य तथा समन्वय होस् भन्ने उद्देश्यको लागि १० वटा नगरपालिकालाई १ करोडको दरले रकम दिन लागिएको हो,’ प्रवक्ता डंगोलले भने ।

१० वटा नगरपालिका मध्ये हालसम्म ६ वटा नगरपालिकाले प्रस्ताव पेश गरेको छ । बाँकी ४ वटा नगरपालिकाले छिटै नै प्रस्ताव पेश गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको सहयोगलाई लिएर नगरपालिकाहरु सकारात्मक देखिएको प्रवक्ता डंगोलले बताए ।

प्रवक्ता डंगोलका अनुसार महानगरपालिकाले केही समय अघि बसेको बैठकले प्रत्येक नगरपालिकालाई हरियाली पार्क निर्माणमा सहयोग गर्ने निर्णय गरेको थियो । हरियाली पार्क निर्माणको लागि भने नगरपालिकाले पुस मसान्तसम्म प्रस्तवा पेश गर्न सक्ने छन् ।

यो वर्ष देखि लागु गरिएको महानगरपालिका र नगरपालिका बीचको समन्वय कार्यक्रम अन्य वर्षहरुमा पनि निरन्तरता पाउने महानगरपालिकाले जनाएको छ । स्थानीय सरकारको खरिद प्रक्रिया अनुसार नै रकम प्रदान गनै महानगरले जनाएको छ ।


क्लिकमान्डु