सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने



काठमाडौ । पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिक रूपमा करीब २० करोड राजश्व तिर्ने योजना बनाएको छ ।

यस अघि मासिक करीब आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा शशी न्यौपानेले जानकारी दिए ।

नेपालमा सिमेन्ट उत्पादन गर्ने उद्योगमध्ये दोस्रो ठूलो सिमेन्ट उद्योगका रूपमा दाबी गरिएको यस उद्योगले आफ्नो क्षमता विस्तार गरेको जनाएको छ । क्षमता विस्तारसँगै अब उद्योगले प्रतिदिन एक लाख २० हजार बोरा सिमेन्ट र १२ लाख मेट्रिकटन क्लिङ्कर उत्पादन गर्नेछ । यसअघि उद्योगले प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

करीब ३० बिघा क्षेत्रफलमा फैलिएको उद्योगले हालसम्म जग्गा खरीददेखि उद्योगको प्रविधि विस्तार र भौतिक पूर्वाधारसम्म करीब १२ अर्ब बराबरको लगानी भएको उद्योगले बताएको छ । उद्योगले करीब १५ अर्ब बराबरको सिमेन्ट बिक्री वितरण गर्ने योजना बनाएको छ ।

उद्योगमा लिफ्टसहित प्रयोगशाला एक्स रे एनलाइजर प्रविधि रहेको छ । सेन्टर कन्ट्रोलअन्तर्गत कम्प्युटर प्रविधिमार्फत अटोमेटिक (पुर्णस्वचालित) रहेको उद्योगले गुणस्तरमा एकरुपता कायम राखेको उद्योगको जिकिर छ । चुन ढुङ्गा, रातो माटो उद्योगको आन्तरिक कच्चा पदार्थ हो । दैनिक करीब पाँच मेगावाट विद्युत आफ्नै उद्योगबाट उत्पादन गर्दै आएको छ ।

युरोप भिआरएम प्रविधिमार्फत सिमेन्ट उत्पादन हुँदै आएको यस उद्योगले आइएसआइ नाइन ००१ र ४२०१ लगायतका प्रमाणपत्र प्राप्त गरिसकेको उद्योगका प्रबन्धक नेत्र घिमिरेले जानकारी दिए । रासस


पुष्प दुलाल