पुनर्निमाण प्राधिकरणले दियाे ३२ जिल्लाका स्थानीय तहलाई पुनर्निर्माण अधिकार




काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको कार्यजिम्मेवारी, साधन(स्रोत र अधिकार हस्तान्तरण गरेको छ ।

संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको कार्यलाई गति दिन, स्थानीय तहहरुमा स्वामित्व बढाउन, संस्थागत दिगोपना बढाउन र संघीयताको कार्यन्वयनका लागि प्राधिकरणले स्थानीय तहरुलाई अधिकार हस्तान्तरण गरेको जानकारी दिए ।

भूकम्प प्रभावित जिल्लाहरुमा २ सय ८४ स्थानीय तह छन् । प्राधिकरणले अभियानका रुपमा स्थानीय तहहरुसँग ११ बुँदे समझदारी गरी अधिकार हस्तान्तरण गरेको थियो ।

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सहित जिल्ला पुनर्निर्माण समितिहरुलाई सकृय पारेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसबाट संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भई पुनर्निर्माण अझ प्रभावकारी हुने विश्वास ब्यक्त गरेका छन ।

समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास, शैक्षिक संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, साँस्कृतिक सम्पदा लगायतको पुनर्निर्माणमा हालसम्म भएको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।


पुष्प दुलाल