प्यानको विषयमा बोर्डको ध्यानाकर्षण, सुजबुझ तवरले लगानीको निर्णय लिन अनुरोध

483
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्थायी लेखा नम्बर (प्यान) को विषयमा भईरहेको नकारात्मक टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा भइरहेका नकारात्मक हल्लाकोपछि नलागी सुजबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन आम लगानीकर्तालाई विशेष अनुरोध गरेको छ ।

प्यान नम्बर सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई छलफल गराई पूर्वाधारको तयारी गरी कार्यान्वयनमा ल्याउनु पर्छ भन्नेमा बोर्ड रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारको चालु आर्थिक वर्ष २०७५–०७६ को बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत सेयर खरिदगर्दा लगानीकर्ताले अनिवार्य रुपमा प्यान लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था रहेको समेत जनाएको छ । बोर्डले उक्त व्यवस्था कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन आएकाले प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई जानकारी गराएको जनाएको छ ।

बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरता र लगानीकर्ताले उठाइएका विषयलाई प्यान लागू गर्ने आन्तरिक राजस्व विभागसँग यथार्थ जानकारी गराइने जारी विज्ञप्तिमा उल्लेख छ ।

आज (आइतबार) विभिन्न लगानीकर्ताका संस्थाहरुले प्यान नम्बरको कार्यान्वयन सम्बन्धमा बोर्डमा ज्ञापन पत्र बु्झाएको छन् ।