घरजग्गा खरिदबिक्री घट्यो, घर बनाउनेको संख्या बढ्यो



काठमाडौं । घरजग्गा कारोबारमा सुस्तता आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७४/७५ को आर्थिक गतिविधिको अध्ययनले घरजग्गा रजिष्ट्रेशनको संख्या घटेको देखाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा घरजग्गा रजिष्ट्रेशनको संख्या ८.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १०.५ प्रतिशतले घरजग्गा रजिष्ट्रेशन बढेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ लाख १६ हजार ७८८ वटा रजिष्ट्रेशन आर्थिक वर्ष २०७४÷७५ मा भएको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा ८ लाख ९२ हजार ४२० वटा रजिष्ट्रेशन भएको थियो ।

घरजग्गाको रजिष्ट्रेशन घटेपनि घर बनाउनेको संख्यामा भने अत्याधिक बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७४/७५ मा घर÷भवन नक्सा पास संख्यामा ४९.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा यस्तो संख्या ३१.८ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्षमा ७९ हजार ८५२ वटा घर बनाउनको लागि नक्सा पासको अनुमति लिएका थिए । आर्थिक वर्ष २०७३/७४ मा ५३ हजार ५०७ घर बनाउनको लागि नक्सा पासको अनुमति पाएका थिए । भूकम्प पीडितले घर निर्माण गर्दा नक्सा पास गर्नुपर्ने व्यवस्था गरेपछि यो संख्या बढेको हो ।

क्षेत्रगत रुपमा विश्लेषण गर्दा विराटनगर र धनगढी क्षेत्रमा घर÷भवन नक्सा पास संख्यामा क्रमशः २.४ र ७.३ प्रतिशतले ह्रास आएको छ भने बाँकी अन्य क्षेत्रहरुमा उल्लेख्य दरमा वृद्धि भएको छ ।

घर जग्गा रजिष्ट्रेशन वापतको राजस्वमा ०.२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यस्तो राजस्व ३९.५ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा १९ अर्ब ८७ करोड रुपैयाँ घरजग्गा रजिष्ट्रेशनको राजस्व वापत सरकारले प्राप्त गरेको थियो ।

क्षेत्रगतरुपमा घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलनमा वीरगञ्ज, पोखरा र सिद्धार्थनगर क्षेत्रमा क्रमशः १०.९, ११.२ र २४.७ प्रतिशतले कमी आएको छ भने बाँकी सबै क्षेत्रमा वृद्धि भएको छ । जसमध्येधनगढी क्षेत्रमा सबैभन्दा बढी अर्थात ५१.० प्रतिशतले र काठमाडौं क्षेत्रमा सबैभन्दा कम अर्थात ०.३ प्रतिशतले वृद्धि भएको छ ।


क्लिकमान्डु