राष्ट्र बैंकलाई एनबी, प्राइम र महालक्ष्मीको जवाफ: कहाँबाट ल्याएर सुमार्गीको पैसा फिर्ता गर्नू ?



काठमाडौं । विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको पैसा फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएपनि ३ बैंकले पैसा फिर्ता गर्न सक्ने अवस्था नरहेको बताएका छन् । सुमार्गीले यी ३ बैंकमा ५५ करोड रुपैयाँ राखेका थिए ।

सर्वोच्च अदालतको आदेश अनुसार राष्ट्र बैंकले बैंकहरुलाई सुमार्गीले बैंकबाट निकालेको पैसा ‘पूर्ववत अवस्थामा ल्याउनू’ भन्दै बैंकहरुलाई निर्देशन दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने इन्भेष्टमेन्ट बैंकमा भएको सुमार्गीको मुक्तिश्री इन्भेष्टमेन्टका नाममा रहेको खातामा २३ करोड रुपैयाँ जम्मा गरिसेकेको जनाएको छ ।

इन्भेष्टमेन्ट बैंकको ऋण तिर्ने प्रयोजनका लागि सुमार्गीले राखेको रकम बैंकले मुक्तिश्रीका नाममा रहेको खातामा जम्मा भएको जनाएको हो ।

‘करोडौ रुपैयाँ रातारात नगद निकाल्न संभव छैन, चेकबाट भएको भुक्तानी कहाँ गयो भनेर प्रष्टसँग खोज्न सकिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब हामी त्यो पनि खोज्छौं ।’

मुक्तिश्रीका नाममा खोलेको खातामा इन्भेष्टमेन्ट बैंकमा रहेको सुमार्गीको ७८ करोड ७ लाख रुपैयाँमध्ये सुमार्गीले त्यहाँबाट निकालेर नेपाल बंगलादेश (एनबी) बैंकमा २५ करोड, प्राइम बैंकमा २० करोड र महालक्ष्मी विकास बैंकमा १० करोड रुपैयाँ जम्मा गरेका थिए ।

राष्ट्र बैंकले यही माघ ८ गते एनबी, प्राइम र महालक्ष्मीलाई पत्र लेख्दै सुमार्गीको रकम फिर्ता गर्न निर्देशन दिएको थियो ।

‘हामीलाई राष्ट्र बैंकले अदालतको आदेश अनुसार सुमार्गीको रकम पूर्ववत अवस्थामा ल्याउनू भनेर निर्देशनसहितको पत्र पठाएको तर अहिले सुमार्गीको खातामा रकम नभएको एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘इन्भेष्टमेन्ट बैंकबाट निकालेर एनबी बैंकमा जम्मा गरेको रकम अहिले सुमार्गीको खातामा छैन, उनले यहाँ भएको ऋण तिरिसकेका छन् र, बाँकी रकम पनि निकालिसकेका छन्,’ सीइओ ढुंगानाले भने, ‘खातामा पैसा नभएपछि हामीले कहाँबाट ल्याएर तिर्नु ?’

सुमार्गीले ऋण तिरेपछि धितोसमेत फुकुवा गरिसकिएको उनले जानकारी दिए ।

‘धितो फुकुवा गरिनसकेको अवस्था भएको भए धितो रोक्का गरेर फिर्ता गर्न सकिन्थ्यो, ऋण तिरेपछि धितो फुकुवा भइसकेको छ,’ ढुंगानाले भने, ‘ऋण तिरेर बाँकी रहेको रकम पनि निकालिसकेका छन्, खातामा छैन ।’

१४ दिनअघि खाता रोक्का नगर्नू भन्ने र १४ दिनपछि झिकिसकेको पैसा फिर्ता गर्नु भन्ने अदालतको आदेशले राष्ट्र बैंक र बैंकहरुलाई तनाबमा पारेको छ ।

आफूले यही ब्यहोरा राष्ट्र बैंकलाई पत्राचार गरेर जानकारी गराउने तयारी गरिरहेको ढुंगानाले जानकारी दिए ।

‘आज (शुक्रबार) म बुटवलतिर छु, काठमाडौं फर्किएपछि यही ब्यहोराको पत्र राष्ट्र बैंकलाई पठाउँछौं,’ उनले भने ।

महालक्ष्मी विकास बैंकले पनि सुमार्गीले जम्मा गरेको १० करोड रुपैयाँ निकालिसकेको जनाएको छ ।

‘पटकपटक गरेर सुमार्गीले पैसा निकालिसकेका छन्, अहिले आएर राष्ट्र बैंकले पूर्ववत अवस्थामा ल्याउनु भनेर निर्देशन दिएको छ,’ बैंकका एक अधिकारीले भने, ‘हामीले कहाँबाट ल्याएर फिर्ता गर्नू ?’

त्यसैगरी, प्राइम बैंकको उच्च व्यवस्थापनका अधिकारीहरु पनि आफ्नो बैंकमा जम्मा भएको सुमार्गीको रकम अहिले उनको खातामा नदेखिएको बताउँछन् ।

‘सुमार्गीले बैंकको ऋण तिरेका छन्, त्यसबाहेक बाँकी रहेको रकम खातामा छैन,’ प्राइम बैंक स्रोतले भन्यो, ‘खातामा नभएको पैसा हामीले कहाँबाट ल्याएर फिर्ता गर्नु भनेर राष्ट्र बैंकलाई पनि भनिसकेका छौं ।’

बैंकरहरुले राष्ट्र बैंकले अनावश्यकरुपमा आफूहरुलाई पेलेको आरोप समेत लगाए ।

‘बैंकलाई पेल्न सकिन्छ भनेर राष्ट्र बैंकले हामीलाई पेलिरहेको छ,’ प्राइम बैंकका एक अधिकारीले भने, ‘जति पेले पनि पैसा निस्किने अवस्था छैन ।’

राष्ट्र बैंकले अदालतको आदेश कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिइसकेकाले बैंकहरुले जसरी भएपनि सुमार्गीको खातामा भएको पैसा पूर्ववत अवस्थामा ल्याउनुपर्ने राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् ।

बैंकहरुले सुमार्गीको पैसा फिर्ता गर्न आनाकानी गरे राष्ट्र बैंकले छानविन गर्ने ती अधिकारीले बताए ।

‘१० लाख रुपैयाँभन्दा बढी नगद निकाल्न पाइँदैन, चेक निकालेर कहाँ लगे ? कहाँ जम्मा गरे ? सबै थाहा हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर, बैंकरहरु नै सुमार्गीसँग मिलेर राष्ट्र बैंकलाई झुक्याउन खोजिरहेका छन्, हामी छानविन गरेर सबै कनेक्सन पत्ता लगाउँछौं । र, गडबडी गर्नेलाई कारबाही गर्छौं ।’

‘करोडौ रुपैयाँ रातारात नगद निकाल्न संभव छैन, चेकबाट भएको भुक्तानी कहाँ गयो भनेर प्रष्टसँग खोज्न सकिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब हामी त्यो पनि खोज्छौं ।’

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले गरेको एक अध्ययनले सुमार्गीले नेपाल ल्याउन लागेको १२ अर्ब रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको थियो ।

सुमार्गीले मुक्तिश्रीका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेपछि राष्ट्र बैंकले ५ वर्षदेखि सुमार्गीको खाता रोक्का गरेको थियो । सुमार्गीको खातामा करिब ७८ करोड अमेरिकी डलर थियो ।

तर, गत पुस १० गते सर्बोच्चका न्यायधीस दिपकराज जोशीको एकल अन्तरिम आदेश दिँदै सुमार्गीको खाता रोक्का नगर्न भनेको थियो ।

अदालतको आदेशपछि सुमार्गीले इन्भेष्टमेन्ट बैंकबाट रकम निकालेका थिए । सुमार्गीले पैसा निकालेर इन्भेष्टमेन्ट बैंककै ऋण पनि तिरेका थिए ।

सुमार्गीले इन्भेष्टमेन्ट बैंकमा भएको पैसा निकालिसकेपछि भने अदालतले प्रधानन्यायधीस चोलेन्द्र शमसेर जबरा र न्यायधीस आनन्दमोहन भट्टराईको इजालशले यसअघिको अन्तरिमा आदेश सच्याउँदै उक्त रकम फिर्ता गर्न पुस २४ गते अर्को आदेश दिएको थियो ।

१४ दिनअघि खाता रोक्का नगर्नू भन्ने र १४ दिनपछि झिकिसकेको पैसा फिर्ता गर्नु भन्ने अदालतको आदेशले राष्ट्र बैंक र बैंकहरुलाई तनाबमा पारेको छ ।

सर्वोच्च अदालतले गत पुस ३० गते आइतबार राष्ट्र बैंकलाई सुमार्गीको पैसा फिर्ता गर्न आदेशसहितको पत्र पठाएको थियो ।

अदालतको पाएकै दिन राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन पछि इन्भेष्टमेन्ट बैंकले भने सुमार्गीको रकम पूर्ववत अवस्थामा ल्याएको जानकारी दिएको छ ।

तर, बाँकी ३ वटा बैंकले भने सुमार्गीको खातामा पैसा नभएको भन्दै फिर्ता गर्न आनाकानी गरिरहेका छन् ।

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले गरेको एक अध्ययनले सुमार्गीले नेपाल ल्याउन लागेको १२ अर्ब रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको थियो ।


पुष्प दुलाल