रेवतबहादुरको सनकले लगानीकर्ता त्रसित, भन्छन्- प्यानले बजार बिगार्छ, नेप्से भन्छ- बोर्डले फसायो



काठमाडौं । आगामी बैशाख १ गतेदेखि दोस्रो सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्न नेप्सेले शुक्रबार छलफल गर्ने तयारी गरेको छ । त्यो तयारी गर्नुपूर्व नै यो विषयमा निकै आलोचना र चर्को विरोध समेत सुरु भएको छ ।

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दियो ।

बोर्डको निर्देशनपछि नेप्सेले भोलि (शुक्रबार) आवश्यक छलफलका लागि लगानीकर्ताहरुलाई बोलाउने भएको छ । नेप्सेले लगानीकर्ताहरुलाई बोलाउनु पूर्व नै सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ ।

‘बोर्डलाई निर्देशन दिए पुगिहाल्छ, आफुले कस्तो निर्देशन दिएको छु भन्ने पनि जानकारीमा छैन जस्तो लाग्छ,’ नेप्सेका स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘यदि जानकारी थियो भने सेयर खरिद गर्नेलाई मात्र प्यान लगाउने भन्ने पनि हुन्छ, बिक्री गर्नेलाई लगाउनु पर्दैन ? बोर्डका यस्तै सन्की निर्णयले बजारमा नराम्रो प्रभाव पर्छ ।’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्न खोज्नु भत्र्सनायोग्य कुरा भएको बताइन् ।

‘अनिवार्य प्यानको विषयमा हाम्रो संघ जोडदार रुपमा बिरोधमा उत्रने छ’ उनले भनिन् ‘अहिलेको अवस्थामा यो प्यान अनिवार्य गर्नु एकदमै दुःखदायी विषय हो ।’

प्यान अनिवार्य गराउन कम्तिमा पनि पञ्चबर्षिय योजना चाहिने उनको तर्क छ । अन्यथा लगानीकर्ताहरु एकदमै त्रसित हुने र यसले बजारमा नराम्रो असर पार्ने उनको बुझाई छ ।

राधा पोखरेल

लगानीकर्ताहरुलाई आगामी नयाँ वर्षबाट अनिवार्य प्यान लागु गर्ने विषयमा आन्तरिक राजश्व कार्यालयले पनि बिनायोजना अघि बढेको उनको भनाई छ । पोखरेल भन्छिन् ‘यो निर्णयबाट सरकार पछि हटनै पर्छ, यसलाई समय लम्ब्याएर स्वैच्छिक रुपमा लागु गर्दै लानुपर्छ ।’

दैनिक बजार घटेको मौका छोपी प्यानको भूत देखाउनु भनेको लगानीकर्तालाई खरानी बनाउनेतर्फ सरकार लागेको उनको बुझाई छ ।

यस्तै अर्का एक लगानीकर्ताको प्यान अनिवार्य गर्नु भनेको निरन्तर घटी रहेको बजारलाई झनै प्यानिक बनाउने काम मात्र भएको दाबी गरे ।

यो तर्साउने मात्र काम भएको भन्दै यसले बजारलाई झनै आरालो लाग्न सहयोग पुग्ने उनको बुझाई छ । ती लगानीकर्ताले भने, ‘अहिले हामी ३ थरी कर तिरिरहेका छौं, लाभांश कर, लाभकर र कम्पनीबाट आयकर, अझै सरकारलाई कति कर चाहिएको हो, गर्न के खोजेको हो ? बुझ्न सकिएन ।’

यो लगानीकर्ता तर्साउने फसाउने हतियार मात्र भएको ती लगानीकर्ताको तर्क छ ।

कुनै समयमा प्यानको कुरा गर्ने, कुनै समयमा कालो धनको कुरा गर्ने, कुनै समयमा पुँजीगत लाभकरको कुरा गरेर लगानीकर्ता तर्साउने मात्र काम भएको उनको भनाई छ । यो लगानीकर्ता तर्साउन सिजनल हतियार बाहेक अरु केही नभएको लगानीकर्ताहरुको दाबी छ ।

त्यस्तै लगानीकर्ता दिलीप मुनाकर्मीले पनि फेसबुकमा स्टाटस लेखेर प्यानले बजार बिगार्ने धारणा व्यक्त गरेका छन् ।

सरकारले समृद्धिको लागि लगानी र राष्ट्रिय पुँजी निर्माणका लागि पुँजी बजार भन्ने गरेपनि बेला बेलामा तर्साउँदा सरकारले आफैले बोलेको कुरा आफैले पुरा गर्न नसक्ने देखिएको बताइन थालेको छ ।

लगानीकर्तालाई १० किता सेयर भिडाएर प्यानमा आउ भन्नु बजार घटाउने मेलो मात्र भएको लगानीकर्ताको ठम्याइ छ ।

नेप्से भन्छन्ः बोर्डले फसायो

धितोपत्र बोर्डले आफुलाई सेयर बजारको नियामक निकायको नाममा मातहतका नियकायलाई निकै त्रसित बनाउने काम गरेको नेप्सेका एक अधिकारीले बताए ।

‘बोर्डलाई निर्देशन दिए पुगिहाल्छ, बोर्डलाई आफुले कस्तो निर्देशन दिएको छु भन्ने पनि जानकारीमा छैन जस्तो लागेको छ’ नेप्सेका एक अधिकारीले क्लिकमाण्डूसँग भने ‘यदि जानकारी थियो भने सेयर खरिद गर्नेलाई मात्र प्यान लगाउने भन्ने पनि हुन्छ, बिक्री गर्नेलाई लगाउनु पर्दैन, बोर्डका केही सन्की हाकिमले गरेको यो निर्णयले धितोपत्र बजारमा नराम्रो प्रभाव पर्छ ।’

बोर्डको निर्देशन अनुसार नेप्से यो काम गर्दा घटि रहेको बजारमा निकै नकारात्मक असर पर्ने र यो गलत समय भएको ति अधिकारीले बताए ।

कर लगाउने विषयमा पहिला बोर्डमा छलफल हुँदा पहिला १० लाख, त्यसपछि ५ लाख, त्यसपछि २ लाख हुँदै क्रमैसँग सबैमा लगाउँ त्यसले धेरै असर पार्दैन भनेर नेप्सेले सुझाव दिँदा बोर्डले त्यो सुझावलाई वास्तै नगरेको नेप्सेको अधिकारीको भनाई छ । बोर्डले गलत समयमा नेप्सेलाई दिएको निर्देशन पालना गर्दा आलोचनाको पात्र नेप्से हुने भएको छ ।

ती अधिकारीका अनुसार बोर्डको निर्देशन कार्यान्वय गरेको खण्डमा नेप्सेको अनलाइन प्रणालीमा पनि सुधार गर्नु पर्ने हुन्छ । अहिले समय समयमा समस्या सृजना गर्दै आएको अनलाइनले पुन लगानीकर्तालार्इं दुःख दिने माध्यम बन्ने नेप्सेकै अधिकारीको भनाई छ ।

बोर्डले नेप्सेलाई प्यान लगाउनका लागि आवश्यक तयारीमा लाग्न केही साताअघि निर्देशन दिएपछि ब्रोकरहरुसँग छलफल भएको थियो ।

छलफलका क्रममा उनीहरुले पनि गलत समयमा यो काम गर्न नहुने राय दिएका ति अधिकारीले बताए ।

ब्रोकर भन्छन्- बजार सकरात्मक हुँदैन

एक सेयर ब्रोकरका अनुसरा प्यान लगाउने कुरा ठीकै भएपनि यसले बजारमा नकरात्मक सन्देश जाने बताए । लगातार घटेर पेनिक बनेको बजार फेरि त्रसित हुनसक्ने भन्दै सरोकारवालाहरुले समयमै सोच्नुपर्ने उनको भनाई थियो ।

‘धितोपत्र बोर्डले भित्रभित्रै प्यान लगाउने तयारी थालेको छ, तर अहिले लगाउँदा बजार सकरात्मक हुँदैन,’ ती ब्रोकरले भने ।


पुष्प दुलाल