माघ १८ गतेदेखि आशा लघुवित्तको आइपिओ, १० कित्ता पनि भर्न पाइने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता साधारण (आइपीओ) सेयर जारी गर्ने भएको छ ।
उक्त सेयरमा लगानीकर्ताले छिटोमा माघ २२ गतेसम्म र ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ । यसको निष्काशन बन्द हुने मिति छिटोमा माघ २२ गतेसम्म रहेको छ । माघ २२ सम्म नबिकेको खण्डमा फागुन १९ गतेसम्म आवेदन दिन पाइन्छ ।
६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत (१० हजार ३ सय ७० कित्ता) सेयर कमर्चारी र ५ प्रतिशत (३३ हजार ७ सय कित्ता) सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।
बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । प्रतिकित्ता १०० रुपैयाँ रहेको सेयरमा लगानीकर्ताले न्युनतम १० कित्ता देखि ३ हजार ३ सय ७० कित्तासम्म आवेदन दिनसक्ने छन्
कम्पनीको साधारण सेयरका लागि केयर रेटिंग नेपालले ४ ग्रेड रेटिङ दिएको छ । हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेको छ । साधारण सेयर जारी पछि चुक्ता पुँजी २० करोड ७४ लाख पुग्ने संस्थाले जनाएको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
साधारण सेयरमा आवेदन दिन चाहने लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट र तीनको शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । साथै मेरो सेयर मार्फत अनलाइन आवेदन पनि दिन सकिने छ ।