ठेकेदारको लापरवाहीले दर्जनै बढी विकास आयोजना अलपत्र



जाजरकोट । वषांैदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन । ठेक्का लिने तर काम बीचमै छाड्दा दर्जन भन्दा धेरै विकास निर्माणका काम आधा भएर अलपत्र परेका हुन ।

वर्षेनी लिएको काम पूरा नगर्दा जिल्लाको स्वास्थ्य संस्था, पुल अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । जिम्मेवार निकायको खबरदारी कम हुनु र निर्माण व्यवसायी गैरजिम्मेवारी बन्नुले जाजरकोटका दर्जन आयोजना वर्षौंदेखि अलपत्र भएका हुन ।

छ महिनाअघि काम नगर्र्ने १४ जना निर्माण व्यवसायीको विवरण गृह मन्त्रालयमा पठाएपनि अहिलेसम्म ती निर्माण व्यवसायी न काममा फर्केका छन् न त जिम्मेवारी बोध नै गरेका छन ।

निर्माणको काम समयमै नगर्ने निर्माण व्यवसायीलाई स्थानीय सरकारले दैनिक ताकेता गरेपनि निर्माण व्यवसायीले नटेर्दा समस्या उत्पन्न भएको छ । ६ वर्षअघि निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने जाजरकोट अस्पतालको प्रसूति भवन अहिलेसम्म लथालिङ्ग छ । फ्रेण्ड्स कन्ट्रक्सन प्रालि काठमाडौँका पुष्पराज बजगाईंले २०६८ चैत २६ मा ठेक्का लिई २०७० जेठ २५ मा काम सक्ने सम्झौता गरेको अस्पतालको प्रसूति गृह अहिलेसम्म निर्माण हुनसकेको छैन ।

उनले निर्माण गर्छु भन्दै पटकपटक म्याद थप्दै आए पनि काम भने जहाँको त्यहीँ छ । सात वर्षसम्म पनि काम पूरा नहुँदा जिल्ला अस्पतालमा दैनिक सेवा प्रवाह प्रभावित हुँदै आएको छ । जिल्ला अस्पतालमा गतिलो भवन नहुँदा आवश्यक उपकरण राख्न र शल्यक्रिया गर्ने ठाउँ र बिरामी कक्षको समेत कमी हुने गरेको छ ।

दैनिक जिल्ला अस्पातलमा आउने बिरामीको गाली मात्र खानुपरेको अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले बताए । त्यस्तै जिल्लाको शिवालय गाउँपालिकाको मोर्क खोलाको मोटर चल्ने पुल आठ वर्षदेखि अलपत्र छ । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रका छेडागाड नगरपालिका तथा जुनि चाँदे, शिवालय र कुशे गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन ।

छेडागाड–जुम्ला सडक खण्डभित्र पर्ने यो पुल निर्माण नहुँदा सडकको थप स्तरोउन्नतिेको काम समेत प्रभावित भएको स्थानीय सरकारले बताएका छन । निर्माण व्यवसायीलाई धेरैपटक सम्पर्क गर्न खोज्यांै तर उनीहरुले हामीलाई वास्ता गर्नुभएन छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले भने ।

लामातडा गर्खाकोट सडकलगायतका दर्जनौँ आयोजना अलपत्र छन । छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिकाको पासागाड खोला पुल पाँच वर्षदेखि निर्माणको सुरसारसम्म छैन । अन्य सडक निर्माणका काम पनि वर्षौंदेखि अलपत्र अवस्थामा हुँदा स्थानीयवासी पीडित बनेका छन । करोडका ठेक्का लिने तर बीचमै काम छाडेर भाग्ने निर्माण व्यवसायीको गैरजिम्मेवार तरिकाले गर्दा जाजरकोटवासी हैरान भएका छन ।

त्यस्तै जिल्लाको नलगाड नगरपालिका–७ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको भवन सात वर्षदेखि निर्माण नहुँदा पानी परको बेला चुहिने हुँदा उपचारमा समस्या भएको केन्द्रका प्रमुख रामप्रसाद गौतमले बताए ।

जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौँका पुरुषोत्तम मानन्धरले २०६८ असार २२ गते सम्झौता गरेर दल्ली स्वास्थ्य केन्द्रको भवन आधा निर्माण गरेर बीचमै छाडेको थियो । २०७० चैत २० गतेभित्र निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरी सक्नुपर्ने सो भवन ठेकेदारले बीचमै काम छोडेको र नगरपालिकाले पटक÷पटक निर्माणको तोकेता गरे पनि सम्पर्कमा नआएको बताइएको छ ।

पूर्वी क्षेत्रको सबैभन्दा ठूलो जनसङ्ख्या भएको यो क्षेत्रमा दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको भए पनि उपचार गर्ने ठाउँको अभावमा कठिनाइ भोग्न बाध्य भएका छन् । आवश्यक उपकरण राख्ने ठाउँसम्म नहुँदा दैनिक उपचार, प्रसूति गराउने कक्षको अभावमा उपचार प्रभावित हुने गरेको स्वास्थ्य शाखाका प्रमुख गौतमले बताए ।

त्यस्तै नलगाड जलविद्युत आयोजनको कालीमाटीदेखि बारेकोट गाउँपालिकाको अधँेरी खोलासम्म निर्माण हुने पहुँच मार्गको काम तोकिएको मितिमा नहुँदा दैनिक यो क्षेत्रमा यात्रा गर्ने स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।

वर्षेनी अधुरा काम पूरा गर्न सांसददेखि मन्त्रीसम्म स्थानीयवासीले ज्ञापनपत्र बुझाए पनि सरोकारवाला निकायले गम्भीरता नदेखाउँदा जिल्लाको विकास निर्माणले गति लिन सकेको छैन ।


पुष्प दुलाल