टेलिकमलाई टक्कर दिन आयो तामाकोशी, कारोबार भएकै साता बजार पुँजीकरणमा टप टेन



काठमाडौं । सूचिकृत भएको एक हप्तामै माथिल्लो तामाकोशीको सेयरमूल्य ३ गुणाले बढेको छ । गत पुस २६ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर सूचिकृत भएका थिए ।

आइतबारदेखि उत्तर सेयर दोस्रो बजारमा कारोबार भएको थियो । कारोबार शुरु भएकै दिनदेखि तामाकोशीको सेयर लगातार बढेको थियो । दैनिक जसो सर्किट ब्रेक लागेको थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबारसम्म आइपुग्दा तामाकोशीको एक कित्ता सेयरको मूल्य ३११ रुपैयाँ पुग्यो भने बजार पुँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

सूचिकृत भएको सता नै नेप्सेमा उच्च पुँजीकरण हुने १० कम्पनीमध्ये माथिल्लो तामाकोशी पर्न सफल भएको छ ।


सँधै झैं यो साता पनि बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । टेलिकमको १ खर्ब ९ अर्ब ९५ करोड रहेको छ भने दोस्रोमा स्थानमा रहेको इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब २१ करोड ६ लाख रुपैयाँको पुँजीकरण छ ।

लामो समयदेखि बजार पुँजीकरणमा नेपाल टेलिकमले एकाधिकार जमाउँदै आएको थियो । माथिल्लो तामाकोशीको सेयर यसरी नै बढ्दै गयो भने केही समयमै नेपाल टेलिकमलाई बजार पुँजीकरणमा टक्कर दिनसक्छ ।

नबील बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र दशौं नम्बरमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ ।

नबिल बैंकको नबिलको ६७ अर्ब ८४ करोड ५८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्डर्र्ड चार्टड बैंक ४७ अर्ब १८ करोड ७३ लाख, एभरेष्ट बैंक ४२ अर्ब ५४ करोड २३ लाख र हिमालयन बैंकको ३८ अर्ब ७६ करोड ७१ लाख, एनआइसी एशिया बैंक ३४ अर्ब ९८ करोड ३५ लाख, नेपाल एसबिआई बैंकको ३२ अर्ब ९५ करोड २० लाख रुपैयाँ बराबरको बजार पुँजीकरण भएको नेप्सेले जनाएको छ ।


पुष्प दुलाल