पर्यटनकाे सम्भावना बाेकेकाे रामपुरको बाहुनडाँडामा प्याराग्लाइडिङ
पाल्पा । पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो ।
रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो । पहिलो उडान बााहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो । दोस्रो उडान सिलुवाको लोस्दीबाट थालेर मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान गरिएको हो ।
रामपुर प्याराग्लाइडिङका लागि अत्यन्तै सम्भावना बोकेको ठाउका रुपमा चिनिन्छ । । त्यहाँबाट उडेर तराई र हिमालको काखसम्म पुग्न सक्ने सम्भावना समेत रहेको जानकारहरु बताउँछन ।
नागबेली आकारमा बगेको कालीगण्डकी, हरियाली डाँडाकाँडा, सुन्दर रामपुर उपत्यका, उत्तरतर्फ टल्केका हिमालको दृश्यसँगै प्याराग्लाइडिङमा यात्रा गर्दा निकै रमाइलो भएको पहिलो प्याराग्लाइडिङका यात्रु रामपुर नगरपालिका–६ का सीताराम आचार्यले बताए ।
रामपुरमा प्याराग्लाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन । प्याराग्लाइडिङ उडानकै कारण गाउँको विकास हुने उनीहरुको आशा छ । विकास निर्माण नहँुदा यहाँ बसाइँसराइका कारण बस्ती पातलिँदै गएको छ ।
दोस्रो रामपुर महोत्सवमा सोमबार दिनभर सबैको ध्यान प्याराग्लाइडिङले आकर्षित गरेको थियो । रामपुरको पर्यटकीय विकासमा टेवा पु¥याउनका निम्ति मेलाका अवसरमा प्याराग्लाइडिङ भित्र्याइएको रामपुर उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।