कसले किन्यो नेपाल बैंकको ११ करोडको सेयर ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल बैंकको आइतबार ११ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

पछिल्लो महिनादेखि नेपाल बैंकको सेयर कारोबार अत्याधिक बढी हुने गरेको छ ।
गतसाता नेपाल बैंकको ३४ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको थियो ।

आइतबार सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ । आजको कारोबार हेर्दा ५७ नम्बर र ५८ ब्रोक्रर कार्यालयबाट बढी सेयर बिक्री भएको देखिन्छ । खरिद भने छरिएर नै भएको छ ।

लगानीकर्ताले बोनस पाउने आशमा नेपाल बैंकको सेयर खरिद गरेका हुन् ।
नेपाल बैंकले लाभांश अहिलेसम्म दिएको छैन । २२ वर्षदेखि बैंकले लगानीकर्तालाई लाभांश दिएको छैन । बैंकले प्रतिकित्ता २८० दरले ४ अर्ब ९५ करोड रुपैयाँको एफपिओ जारी गरेको थियो । जसमा ३ अर्ब १८ करोड रुपैयाँ बैंकको रिजर्बमा गएको छ ।

असोज मसान्तसम्मको तथ्यांक अनुसार बैंकको चुक्ता पुँजी ९ अर्ब ८० करोड रहेको छ । रिजर्बमा १९ अर्ब ६० करोड रुपैयाँ छ । बैंकले न्यूनतम २० प्रतिशतसम्म बोनस सेयर भने दिनसक्छ । बैंकमा ४९ प्रतिशत सेयर सर्वसाधारणको छ भने ५१ प्रतिशत स्वामित्व सरकारको रहेको छ ।

नेपाल बैंकको ११ करोड रुपैयाँको कारोबार सहित आइतबार नेप्सेमा ३७ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक भने ५.७८ अंकले ओरालो लागेको छ ।


क्लिकमान्डु