भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माण हुने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ ।
यो निर्णयसँगै अब भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुल्ला भएको छ ।
प्राधिकरणको कार्यकारी समितिकोे बैठकले पारित गरेको कार्यविधिमा पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण आवश्यकता बमोजिम पुरातत्व विभागको पूर्व स्वीकृति लिई केन्द्रीय आयोजना कार्यान्वयन इकाई , अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधारको प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ ।
भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरिया भन्दा कमका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समिति मार्फत गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधि अनुसार सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण कार्य स्थानीय तह मार्फत गरिनेछ ।
पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका पूर्ण रुपमा क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माणका लागि केन्द्रबाट शत प्रतिशत बजेटको व्यवस्था हुने कार्यविधिमा उल्लेख गरिएको छ ।
सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको हकमा भने पुनर्निर्माण गर्न लाग्ने कूल रकमको ५० प्रतिशत प्राधिकरणले अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई रकम उलब्ध गराउने छ । बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तह र गुम्बा, बिहार तथा स्तूपा व्यवस्थापन समिति अन्तर्गत रहेको उपभोक्ता समितिले जुटाउनु पर्ने व्यवस्था रहेको छ ।
भूकम्बाट क्षति भएका गुम्बाहरुको संख्या १३२० छ, जसमध्ये पुनर्निर्माण गर्नु पर्ने गुम्बाको संख्या ८ सय ९५ र मर्मत सम्भार गर्नु पर्ने गुम्बाको संख्या ४ सय २ छ ।
यस्तै बैठकले स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ४ स्थित तिलडाँडास्थित तिलडाँडा एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ३ हैबुङमा हैबुङ एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ६ तारामारङमा भनावीश्वर सिग्देल एकीकृत बस्ती र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ स्थित गुम्सालमा गुम्साल एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।