पुस २१ गते काठमाडौंमा नेपालको ठुलो ‘स्टार्टअप’ मेला



काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष २१ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जिबिजि बिजफेस्ट आयोजना गर्ने भएको छ । काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी स्कुल परिसरमा जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी हो ।

खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको यसमेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । यस कार्यक्रममा विशेष गरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपरहरु र प्रतिनिधिहरू सहभागि हुने अपेक्षा गरिएको छ ।

जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गर्न र देशभरका स्टार्टअपहरुलाई एकै स्थानमा ल्याउन पाउँदा आफूहरु अत्यन्तै उत्साहित भएको गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवालले बताए ।

‘यस कार्यक्रममा हामी नेपालका अधिकांश युवा उद्यमीहरू, एप डेभलपरहरु, साथै गुगलका प्रविधि र सेवाहरूमा रुचि राख्ने विद्यार्थीहरू लगायतको सहभागिताको आशा गरेका छौँ,’ अग्रवालले भने ।

मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरुले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक तीन हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधिहरु सम्बन्धि कार्यशाला प्रस्तुत गर्नेछन् ।

धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको छ । इच्छुक व्यबसायीहरुले सजिलै स्टल बुक गर्न सक्नेछन् । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।


पुष्प दुलाल