सेयर बजारमा लगानीकर्ताका संघमाथि संघ, फेरि जन्मियो अर्को समूह
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुको हकहित गर्ने नाममा एकपछि अर्को गर्दै संघ तथा दबाब समूह गठन हुनेक्रम बढ्दो छ । लगानीकर्ताका पक्षमा वकालत गर्ने ४/५ वटा संघ तथा समूह भइरको अवस्थामा शुक्रबार फेरि अर्को समूह थपिएको हो ।
शुक्रबार भृकुटीमण्डपमा भेला भएका लगानीकर्ताहरुले हरि ढकालको अध्यक्षतामा १५ सदस्यीय सेयर लगानीकर्ता दबाब समूह गठन गरेको छ ।
समूहको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र अग्रवाल, उपाध्यक्षहरुमा शुष्मा ढुङ्गाना, गोपीकृष्ण आचार्य र देवेन्द्र शुक्ल, महासचिवमा नगेन्द्र बास्तोला, सचिवमा गोपाल स्वामी, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा अप्सरा खनाल छन् ।
६ जना केन्द्रिय सदस्य छन् । सेयर बजारसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकार तिलक कोइराला उक्त दबाब समूहको सल्लाहकार समिति संयोजक छन् । ५ जनाको सल्लाहकार समिति गठन गरिएको छ । पत्रकार कोइराला केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा सहित सेयर बजार सुधारसम्बन्धी विभिन्न माग राख्दै अनसन समेत बसेका थिए ।
सेयर बजारका लगानीकर्ताहरुको पक्षमा संघर्ष गर्नका लागि धेरैवटा संघ तथा समूहहरु भएको भन्दै सर्वसाधारण लगानीकर्ताले भने गुनासो गर्दै आएका छन् ।
‘लगानीकर्ताको हित गर्ने भन्दै राजनीति गर्नेहरु धेरै भए,’ एक लगानीकर्ताले भने, ‘वास्तविकरुपमा लगानीकर्ताको हित गर्ने हो भने एउटै संघ वा संगठन बनाएर अघि बढ्नुकोक विकल्प छैन ।’