९ वर्षमा डिश होमले सरकारलाई ४ अर्ब राजस्व तिर्यो, अध्यक्ष ढकाल भन्छन्- अर्को वर्ष आइपिओ



काठमाडौं । नेपालको एकमात्र स्याटालाइट प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले ९ वर्षमा ४ अर्ब १० करोड ९१ लाख रुपैयाँ राजस्व बुझाएको छ ।

विभिन्न शीर्षक अन्तर्गत उक्त रकम बुझाइएको डिश होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए । आचार्यका अनुसार कम्पनीले भन्सारमार्फत् ८७ करोड २० लाख ११ हजार ७८, मूल्य अभिवृद्धि करबापत २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ, रोयल्टीतर्फ १९ करोड ३५ लाख ४६ हजार ४ सय ५४ रुपैयाँ, लाइसेन्स र नवीकरणतर्फ ४ करोड ६८ लाख ३ हजार ३ सय ३४ रुपैयाँ, आयकरतर्फ ४५ करोड ३० लाख १७ हजार ४ सय रुपैयाँ र ग्राहकबाट सङ्कलित टीडीएसतर्फ ५३ करोड ८५ लाख १ हजार ६ सय ५१ रुपैयाँ सरकारलाई बुझाइएको हो ।

‘टेलिभिजन सेवा प्रदायकमा हाम्रो हिस्सा २५ प्रतिशत छ, हामीले सरकारलाई यति धेरै रकम तिर्यौं भने बाँकी ७५ प्रतिशत हिस्साबाट सरकारले कति रकम पायो ? यो पनि हेर्नुपर्ने हुन्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

डिश होमले हालसम्म १५ लाख वटा सेटअप बक्स बितरण गरिसकेको आचार्यले जानकारी दिए । यसको मतलब डिश होमका ग्राहक १५ लाख छन् भन्ने हो ।

‘हामीले प्रिपेड भुक्तानी प्रक्रियामा सेवा दिने भएकाले ग्राहकहरुको संख्या घटबढ भइरहन्छ,’ उनले भने ।

कम्पनीमा ४५० कर्मचारी छन् भने ८ हजार भन्दा बढी दक्ष प्राविधिकहरु छन् । त्यसैगरी, ८७ वटा डिलर र ३५ सय वटा सब डिलर छन् । देशभरका २० हजार स्थानबाट डिश होमको रिचार्ज किन्न पाइनछन् ।

‘९ वर्षको अवधिमा हामीले देशैभर हाम्रो सञ्जाल विस्तार गर्न सफल भएका छौं,’ आचार्यले भने, ‘हाम्रो उदेश्य उपभोक्ताले सस्तो मूल्यमै गुणस्तरीय सेवा पाउन भन्ने हो ।’

कम्पनीका अध्यक्ष अध्यक्ष हेमराज ढकालले कम्पनी स्थापना गर्दाका केही घटनाहरु स्मरण गरे ।

‘डीटीएच प्रविधि आफैंमा नयाँ थियो, नेपालमा यस सम्बन्धी कानून पनि थिएन, हामी सिक्दै अघि बढ्यौं,’ उनले स्मरण गरे, ‘हामी कम्पनी चलाएर नाफा कमाउनेतर्फ भन्दा पनि कम्पनीलाई स्थापित गर्नेतर्फ केन्द्रित भयौं, त्यसैले आज यो सफलता प्राप्त गरेका छौं ।’

शिक्षाको क्षेत्रमा गाउँगाउँसम्म राम्रो पेनिट्रेशन गरिरहेको उनले बताए ।

‘हामी काठमाडौंको स्कुलमा पढाएको कुरा दुर्गम गाउँमा पुर्याउन सक्छौं,’ उनले भने । आफूहरु सरकारको नीतिलाई सहयोग गर्दै अघि बढेको ढकालले प्रष्ट पारे ।

प्रविधिको उच्चतम प्रयोग गरेर छिटो, छरितो, गुणस्तरी र सस्तो सेवा उपलब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको उनले जानकारी दिए ।

त्यसैगरी, डिश होमले एक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गर्ने उनले जानकारी दिए ।

‘डिश होम यसअघि नै पब्लिक कम्पनीमा रुपान्तरित भइसकेको छ । यसै वर्ष साधारण सेयर जारी गर्ने योजना थियो, विविध कारणले संभव भएन,’ ढकालले भने, ‘आगमी वर्ष कम्पनीले आइपिओ जारी गर्छ । संस्थापक र सर्वसाधारण सेयरधनीले सँगै बोनस खाने योजना छ ।’


पुष्प दुलाल