१७ करोडको लागतमा बन्यो कृषि थोक बजार, कृषक लाभान्वित हुने




विराटनगर । कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ ।

कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पुर्याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्ने प्रदेश नं–१ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले बताए ।

कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएको प्याक्टले २०६८ सालमा तत्कालीन कटहरी गाविससँग सम्झौता गरेको थियो ।

त्यही सम्झौताको आधारमा नेपाल सरकारले २०७४ साल पुसमा व्यावसायिक कृषि व्यापार आयोजनाको काम अगाडि बढाएअनुरुप स्थानीय जनप्रिय मावि कटहरीले चार कठ्ठा दुई धुर र कटहरी गाविसले १८ धुर उपलब्ध गराएको जग्गामा अहिले अत्याधुनिक कृषि थोक बजार निर्माण भएको हो ।

बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल आठ हजार मेट्रिकटन अट्ने क्षमताको छ । विराटनगरको सिङ्घिया नदीसँग जोडिएको सो भवनबाट विगतमा कृषकले भोग्दै आएको समस्या समाधान हुने कृषि विकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत प्रकाश डाँगीले बताए ।

नेपाल सरकारले कृषि क्षेत्रमा लागेका कृषकको जीवनस्तर उकास्न तथा कृषकको उत्पादनलाई व्यवस्थित भण्डारण गर्न कामाडौँमा पुष्प र तरकारी थोक बजार, बुटवल र विराटनगरमा व्यावसायिक कृषि थोक बजार, जनकपुर र दमकमा पशु बजार खोल्ने निर्णय गरेपछि कृषि क्षेत्र र कृषकमा उत्साह पैदा भएको थियो ।

भूमि कन्सट्रक्सन प्रालिले ठेक्कामा लिई १७ करोडको लागतमा एउटा तरकारी थोक बजार र अर्को फलफूल थोक बजारसहित एक अत्याधुनिक भवन पनि निर्माण गरेको छ । भवनको लागि प्याक्टले १२ करोड र नेपाल सरकारले पाँच करोड खर्च व्यहोरेको कन्सट्रक्सनका प्रोप्राइटर अविनाश बोहराले जानकारी दिए ।

व्यावसायिक कृषि व्यापार आयोजना काठमाडौँका वरिष्ठ आयोजना अधिकृत दिनेशप्रसाद सापकोटाले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने उद्देश्यले बनाएको यो बजारबाट स्थानीय बजारमा तरकारी र फलफूल सजिलै उपलब्ध हुने विश्वास व्यक्त गरे ।

बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टल बनाइएको छ । तरकारी कृषक बुनिलाल राजवंशीले तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकका लागि बनाइदिएको यस्तो व्यवस्थित बजारबाट सबै कृषक लाभान्वित हुने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु