ठेक्का लिएर सडक नबनाउने ठेकेदारलाई पैसा तिराउन थाल्यो सरकार




काठमाडौं । सडक निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले पैसा तिराउन थालेको छ । साइड क्लियर भएको स्थानमा पनि ठेकेदारको लापरवाहीले समयमै काम हुन नसकेको ठाउँमा सरकारले यस्तो कारबाही गर्न लागेको हो ।

साइड क्लियर भएका र अन्य समस्या नभएका स्थानमा ठेकेदारको कारणले मात्रै आयोजना निर्माणमा ढिलाइ भएको देखिएपछि केही ठेकेदारलाई आर्थिक जरिवाना गरिएको सडक विभागका सुचना अधिकारी रमेश कुमार सिंहले जानकारी दिए ।

‘कतिपय स्थानमा साइड नै क्लियर नभएका र अदालतको आदेश लगायतका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको छ, तर ठेकेदारको कारणले मात्रै आयोजना बनाउन ढिलाइ भएको पाइएका आयोजनाहरुका ठेकेदारलाई आर्थिक जरिवाना तिराउने, ठेक्का सम्झौता तोड्ने र कालोसुचीमा राखेर अन्य ठेक्कामा सहभागी हुन नपाउनेसम्मको कारबाही भइरहेको छ,’ सिंहले क्लिकमाण्डूसँग भने ।

कुन कुन आयोजनाका ठेकेदारलाई भयो आर्थिक जरिवाना ?
विभागले दिएको जानकारी अनुसार कोहलपूर नेपालगञ्ज सडकखण्डको निर्माण कार्य तालिका अनुसार नगरेको भन्दै सरकारले ठेकेदारलाई ५ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै बर्दघाट त्रिवेणी सडकमा पनि ठेकेदारले समयमै काम नगरेको भन्दै १ करोड ५८ लाख, बालाजु त्रिशुली सडकको ठेकेदारलाई १८ लाख र बुटबल बेलहिया सडकखण्डको ठेकेदारलाई ३ करोड ८७ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

सडक विभाग र मातहत कार्यालयले भक्तपूर नगरकोट सडकखण्डको काम समयमै नगरेको भन्दै ठेकेदारलाई ७ लाख रुपैयाँ जरिवाना तिराइएको र दैनिक १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराउँदै काम गराइरहिएको विभागले जानकारी दियो ।


क्लिकमान्डु