पुस ५ देखि ‘राष्ट्रिय उद्यमशील महिला मेला’



काठमाडौँ । नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ ।

मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका हस्तकलासाथै जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका घरेलु वस्तु प्रदर्शन गरिने छ ।

आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष देवकी बुढाथोकीले मुलुकको समग्र आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी वृद्धि गरी स्वदेशी उत्पादन बढाएर त्यसको प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

उनले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महिला सशक्तीकरणको खाँचो औँल्याउँदै यस्ता घरेलु वस्तुको प्रवद्र्धन भएमा उनीहरुको पहुँचमा लगानी कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

करीब तीन लाख दर्शकले मेला अवलोकन गर्ने र करीब दश करोडको कारोवार हुने अनुमान गरिएको छ । देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासङ्घमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन् । मेलामा उद्योगको अवस्था, व्यापार घाटा न्यूनीकरण लगायत विषयमा विज्ञ सम्मिलित गोष्ठी हुने बताइएको छ ।


क्लिकमान्डु