राष्ट्रिय गौरबका आयोजनामा अख्तियार पस्यो, माग्यो सबैको प्रगति विवरण




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरबका आयोजनामा भएको ढिलाइप्रति असन्तुष्टि जनाउदै प्रगति विवरण मागेको छ ।

आयोगले सबै आयोजनालाई पत्राचार गर्दै प्रगति विवरण मागेको हो । निर्धारित समयसम्म पनि आयोजनाको आर्थिक र भौतिक प्रगति कमजोर भएको गुनासो आएपछि के कति कारणले ढिलाइ भएको हो भनेर प्रगति विवरण मागिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

‘राष्ट्रिय गौरबका आयोजनाको आर्थिक र भौतिक प्रगति राम्रो भएन भन्ने गुनासा आइरहेका छन्, अहिलेसम्म के कति काम भएको छ, काम कम भएको छ भने के कति कारणले ढिलाइ भयो भन्ने जस्ता विवरण मागेका हौं, आयोजना निर्माणमा ढिलाइ भएको छ भने त्यसमा हामीले केही सहजीकरण गर्न सक्छौं कि भनेर प्रगति विवरण मागेका हौं,’ प्रवक्ता दंगालले क्लिकमाण्डूसँग भने ।

राज्यले नै उच्च प्राथमिकतमा राखेर राष्ट्रिय गौरबका बनाएको आयोजना निर्माण नै सुस्त बनेपछि आयोगले चासो देखाएको हो । आयोगले अनुगमन गरी सहजीकरणको लागि भनेर विवरण मागेपनि आयोजना विशेषमा देखिएका बद्मासीमाथि कारबाही गर्ने उद्देश्यले यस्तो विवरण मागेको बताइन्छ ।

सरकारले आर्थिक बर्ष २०६८/६९ को बजेटमा १७ वटा आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा उल्लेख गरेको थियो । यस्तै आर्थिक बर्ष २०७०/७१ को बजेट मार्फत ४ आयोजनालाई थपेर २१ वटा आयोजनालाई राष्ट्रिय गौरबको आयोजना मानिदै आएको छ ।

सरकारले राष्ट्रिय गौरबका आयोजना निर्माणमा कुनै समस्या नआओस भनेर बजेटदेखि जनशक्तिसम्म आवश्यक सबै सहयोग गर्ने गरिएको बताउँदै आएको छ । तर, आयोजनाको भौतिक र आर्थिक प्रगति कम भएको भन्दै अर्थमन्त्रालयले सार्बजनिक रुपमै असन्तुष्टि जनाउँदै आएको छ ।

कुन कुन हुन राष्ट्रिय गौरबका आयोजना ?
उर्जा मन्त्रालय
१. माथिल्लो तामाकोशी जलविद्युत आयोजना
२. बुढी गण्डकी जलबिद्युत आयोजना
३. पश्चिम सेती जलबिद्युत आयोजना
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग
२. हुलाकी राजमार्ग
३. काठमाडौं तराई मधेश द्रुतमार्ग
४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली)
(क) उत्तर दक्षिण लोकमार्ग कोशी
(ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी
(ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली
५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना
शहरी बिकास मन्त्रालय
१. मेलम्ची खानेपानी आयोजना
सिँचाइ मन्त्रालय
१. सिक्टा सिँचाइ आयोजना
२. रानीजमरा सिँचाइ आयोजना
३. बबई सिँचाइ आयोजना
४. भेरी–बबई डाइभर्शन आयोजना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१. दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निजगढ, बारा
२. भैरहवा (गौतम बुद्ध) विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने
३. पोखरा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विकसित गर्ने
४. पशुपति क्षेत्र विकास कोष
५. लुम्बिनी क्षेत्र विकास कोष
वन तथा भू संरक्षण मन्त्रालय
१. राष्ट्रपति चुरे संरक्षण आयोजना


क्लिकमान्डु