किन आवश्यक छ पशु तथा कृषि बीमा ? कार्यक्रम प्रभावकारी नभएपछि प्रशिक्षण



लहान । सरकारले सञ्चालन गरेको पशु तथा कृषिबाली बीमासम्बन्धी कार्यक्रम सिरहामा खासै प्रभावकारी नभएपछि किसानलाई यसको महत्वबारे प्रशिक्षण दिइएको छ ।

पशु तथा कृषि बीमाको आवश्यकता, महत्व र कृषिबालीमा लाग्ने रोग कीराको बारेमा जानकारी गराउने उद्देश्यले किसानलाई प्रशिक्षण दिइएको हो ।

कृषि विकास शाखा सिरहाको आयोजनामा लहानमा सञ्चालन गरिएको तीन दिने सो तालीममा २५ अगुवा किसानको सहभागी थियो । सिरहामा पशु तथा कृषि बालीको बीमा गर्दै आएका लुम्बिनी जेनेरल इन्सुरेन्स कम्पनी लहान शाखा प्रमुख अनिल यादवले बीमाको आवश्यकता, बीमाबाट हुने फाइदा बेफाइदालगायत विषय वस्तुको बारेमा प्रशिक्षण दिएका थिए ।

जिल्लामा पशुको बीमा भइरहे पनि कृषि बालीको नभएकाले किसानलाई यसबारे प्रशिक्षण आवश्यक भएको यादवले बताए ।

कृषि विकास शाखा संयोजक प्रदीप चौधरीले कृषकलाई कृषि तथा बाली बीमासम्बन्धी आधारभूत ज्ञान, बीमा गराउने प्रक्रिया, बीमा दाबी गर्न चाहिने कागजात, बीमा गर्दा लाग्ने शुल्क तथा रकम फिर्ता हुने नहुनेबारे जानकारी गराउन तालीम सञ्चालन गरिएको बताए ।

कृषकलाई समयमा बीउ, मल, अनुदानमा उपलब्ध गराउन नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै तालीममा सहभागी किसानले कृषि उपजको उचित मूल्यसहित बजार व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले साना महिला किसानलाई सामूहिक खेती गराई जीविकोपार्जनमा सहयोग हुने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

लहानको खुट्टीखोलालाई कृषकको आवश्यकताअनुसार पानी भण्डारण गरी सहज तरिकाले खेतीसम्म पु¥याउने, कृषक समूह विस्तार गर्ने, निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीको विस्तार, सामूहिक र करार खेती गर्ने कृषक समूहलाई नगरपालिकाको सम्बन्धित वडाबाट अनुदानको व्यवस्था मिलाउने उपप्रमुख चौधरीले उल्लेख गरिन् ।


क्लिकमान्डु