डुबायो हाइड्रोपावरलेः दोस्रो बजारमै १०० रुपैयाँमा पाइन थाल्यो सेयर



काठमाडौं । लगानीकर्ताहरुका लागि कुनै समय होइड्रोपावर कम्पनीको सेयर निकै आकर्षक मानिन्थ्यो । देश उज्यालो पार्ने होइड्रोपावरले लगानीकर्ताको अनुहार पनि उज्यालो पारेको थियो । जसकारण होइड्रोपावरको सेयरमा लगानीकर्ताहरु झुम्मिन्थे ।

कुनै समय प्रतिकित्ता ३२ सय रुपैयाँ किनबेच भएको चिलिमे जलविद्युत कम्पनीको सेयर अहिले ६२५ रुपैयाँमा झरेको छ ।

त्यस्तै, कुनै समय सेयर बजारलाई लिड गर्ने कम्पनीका रुपमा रहेको बुटवल पावर कम्पनीको सेयर अहिले ४३९ रुपैयाँमा झरेको छ ।

यस्तै कुनै समय ३/४ सय रुपैयाँ दिव्येश्वरी हाइड्रो पावरको सेयर अहिले ९६ रुपैयाँमै किन्न पाइन्छ । यो फेस भ्याल्यूभन्दा ४ रुपैयाँ कम हो । अर्थात् घन्टौं लाइन लागेर आइपिओ भरेका लगानीकर्ताहरुले पनि यो कम्पनीको सेयर १०० रुपैयाँमा किनेका थिए ।

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका पूरानो कम्पनी नेशनल हाइड्रोपावर कुनै समय लगानीकर्ताका लागि निकै आकर्षक कम्पनीका रुपमा परिचित थियो । दोस्रो बजारमा यो कम्पनीको सेयर किन्न लगानीकर्ता लालायित हुन्थे । अहिले दोस्रो बजारमा यो कम्पनीको सेयर ७३ रुपैयाँमै किन्न पाइन्छ । जबकी आइपिओ भर्नेहरुले नै वर्षौअघि १०० रुपैयाँ लगानी गरेका थिए ।

एक वर्ष पहिले ६ सय रुपैयाँमा पाइने अपि पावर कम्पनीको सेयर मूल्य अहिले १ सय ४१ रुपैयाँमा झरेको छ । त्यस्तै, एक/डेढ वर्षअघिसम्म दोस्रो बजारमा ४/५ सय रुपैयाँमा किनबेच हुँदै आएको अरुण काबेलीको १८९, अरुण भ्याली ११३, बरुण हाइड्रो पावर १०८ रुपैयाँमा कारोवार भएको छ । त्यस्तै, हिमालय पावरको १७५, जलविद्युत् लगानी तथा विकास कम्पनी १५०, कापलका पावर १०५, नेशनल हाइड्रो पार ७३ मा कारोवार भएको छ ।

ङादी ग्रपको सेयर १३२ मा कारोवार हुँदा रौराङ हाइड्रो पावरको १०९, राधी विद्युत् कम्पनी १७४, रिडी हाइड्रो पावर १००, सानिमा माई हाइड्रो पावर २३०, सिनर्जी पावर १०० का कारोवार भएका छन् ।

यस्तै छ्याङदी १०९ र ५०१ रुपैयाँमा एफपिओ बिक्री गरेको बुटवल पावर कम्पनीको सेयर समेत ओरालो लागेर ४३९ मा कारोवार भएको छ । युनाइटेड मोदीको १३३ मा कारोवार भएको छ । स्टकमा हाल २१ जलविद्युत् कम्पनीका सेयर सूचीकृत छन् ।

१०० रुपैयाँमा किनेको हाइड्रोपावर केही कम्पनीहरुको सेयर ३० हजार ३२ सय रुपैयाँसम्म पुगेको थियो भने ८/९ सय रुपैयाँ त अधिकांशको पुगेको थियो । गुणात्मक किसिमले मूल्य बढेपछि लगानीकर्ता आकर्षित हुनु स्वभाविक पनि थियो ।

तर, केही समययता हाइड्रोपावर कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ । नेप्से इन्डेक्स ओरालो लाग्दा त्यसको सबैभन्दा ठूलो असर हाइड्रोपावरमा देखिएको छ ।

अधिकाशं हाइड्रोपावर कम्पनीका सेयर मूल्य फेस भ्याल्यू वरपर नै आएका छन् भने केही कम्पनीका सेयर फेस भ्याल्यू अर्थात् १०० रुपैयाँ भन्दा तल पुगेका छन् । यसले होइड्रोपावर कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्तालाई समेत हच्काएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोवार भएका अधिकाशं कम्पनीका सेयर ओरालो लागेको छन् । समग्रमा जलविद्युत् कम्पनीको सेयर २१.२४ बिन्दुले घटेको छ ।


पुष्प दुलाल