पूँजी बजार विस्तारका लागि बोर्डको निर्देशन, उपत्यकाबाहिर नयाँ शेयर ब्रोकर थप गर्ने



काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवारका लागि काठमाडौँ उपत्यकाबाहिर धितोपत्र दलाल व्यवसायीको सङ्ख्या थप गर्ने भएको छ ।

सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने आवश्यक प्रक्रिया मिलाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिशसहित बोर्डमा निवेदन दिने व्यवस्था रहेकाले बोर्डले उक्त कार्यअगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्रको बजार ७७ जिल्लामा विस्तार भइसकेको अवस्थामा नयाँ धितोपत्र व्यवसायीको विस्तारले स्थानीय स्तरमा रोजगारीको वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोवार सुविधासमेत देशव्यापी रुपमा विस्तार भई समग्र पूँजी बजारको दायरा फराकिलो हुने बोर्डको विश्वास छ ।

विद्यमान बजारको अवस्था तथा आकर, दलाल व्यवसायीले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम स्थानीयस्तरका व्यवसायी हुँदा सो व्यवसायप्रतिको अपनत्वका साथै स्थानीय पूँजी परिचालन भई स्थानीयस्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने विश्वास बोर्डको छ ।


क्लिकमान्डु