माथिल्लो तामकोशी परियोजना अघि बढाउन उर्जामन्त्रीको पहल, सात दिनभित्र खाका बुझाउन निर्देशन



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई दु्रत गतिमा अघि बढाउन पहल थालेका छन् ।

यसअघि मन्त्री पुनले परियोजना प्रमुख विज्ञान श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई राखेर मन्त्रालयमा आयोजनालाई युद्धस्तरमा अघि बढाउने विषयमा छलफल गरेका थिए ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परियोजन प्रमुख श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि टेक्सम्याको रेलवे इन्जिनियरिङलाई राखेर आयोजनामा देखिएको समस्यालाई हल गर्ने विषयमा छलफल गरेका छन् ।

उनले आयोजनामा देखिएको समस्यालाई हल गर्न यसअघि अनौपचारिक वैठक गरेका थिए । सोमबार भएको छलफलमा मन्त्री पुनले कामको गति वढाउन निर्देशन दिनुका साथै निर्माण कम्पनीलाई सात दिन भित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिएका छन् ।

‘अब समयमा सम्झौता हुँदैन, गुणस्तरमापनि हामी सम्झौता गर्दैनौं, आयोजनाको काम कहाँ कसरी र कहिले सक्ने हो त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस् ।’ मन्त्री पुनले छलफलमा भने ।

समयमा काम अघि नढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भएपनि प्रक्रिया अघि बढाउने चेतावनी समेत मन्त्री पुनले दिएका थिए । उर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतीको वारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दोलखा पुगेका थिए ।

उनले आयोजनामा देखिएको समस्या हल गर्न सम्बन्धित पक्षलाई पटक–पटक निर्देशन दिंदै आएका छन् । टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसिमाभित्रै खाका बुझाउने प्रतिवद्धता जनाएको छ ।


क्लिकमान्डु