न्यौपाने नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा चयन



काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने यसअघि महासचिव पदमा कार्यरत थिए ।

सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् ।

त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । संघको निवर्तमान अध्यक्ष दीपक खड्का हुन् ।
नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले आगामी दिनमा अटो मेकानिक्सको हितका लागि थप प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारण सभाको उद्घाटन श्रम, रोजगार तथा समाज कल्याण मन्त्री गोकर्ण विष्टले गरेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए तापनि लाखौ नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौलाई रोजगारी प्रदान गरिरहेको र आगामी दिनमा आत्म सम्मानका साथ युवाहरु यो क्षेत्रमा लाग्ने वातावरण निर्माणका लागि सरकारले सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसाल, अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्का लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


क्लिकमान्डु