तुलसीपुर उपमहानगर हर्न निषेधित, बजाए ५ सयदेखि १५ सयसम्म जरिवाना



दाङ । तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ ।

उपमहानगरपालिका र प्रदेश नं. ५ को प्रहरी कार्यालयले संयुक्तरुपमा आज ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरी सो घोषणा गरेको हो । लामो तयारीपश्चात उपमहानगरले ध्वनी प्रदूषणले आमजनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

उनले आवश्यकता बाहेक अन्य बेलामा हर्न बजाए ५०० देखि एक हजार ५०० सम्म जरिवाना गरिने बताए । उनले सडक कब्जा गरेर निर्माण गरिएका संरचना तत्काल हटाइ बाटो फराकिलो बनाउनका लागि तत्काल काम अगाडि बढाइनेसमेत बताए । प्रदूषण रोक्नका लागि सवारी साधनमा हरियो स्टिकर टाँस्ने कामको सुरुआत गरिने बताइएको छ ।

सो अवसरमा प्रदेश नं। ५ का प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले सबैको साझा सहकार्यबाट मात्रै घोषणा कार्यान्वयन गर्न सकिने बताए ।

राप्ती यातायात प्रालिका अध्यक्ष शुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष विमल रिजाल, यातायात मजदुर सङ्गठनका अध्यक्ष केशव भण्डारी, नागरिक समाजका सल्लाहकार टीकाराम रेग्मी, महिला मानव अधिकार रक्षक सञ्जालका संयोजक सुष्मा गिरीलगायतले हर्न निषेध घोषणा कार्यान्वयन गरेर शहरको पहिचान बनाउन आग्रह गरे ।


क्लिकमान्डु