मदिरा बेचबिखन सम्बन्धी आदेशप्रति होटल संघ नेपालको ध्यानाकर्षण



काठमाण्डौ । होटल संघ नेपालका कार्यसमिति सदस्यसहित तारे होटल सञ्चालक तथा प्रतिनिधिहरुको उपस्थितिमा आकस्मिक बैठक बसेको छ । बैठकले सरकारले तर्जुमा गर्न लागेको मदिरा बेचबिखन सम्बन्धी आदेश तथा नीति लगायतका विषमा ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष अमरमान शाक्यले सरकारले शान्ति, सुरक्षा र अमनचैन कायम राख्न लागेको कार्यलाई संघको तर्फबाट सकारात्मक रुपमा लिने र मदिरा बेचबिखन सम्बन्धी मस्यौदामा भए बमोजिमका निर्णय लागू गरिने हो भने सम्पूर्ण संयन्त्रहरु नै प्रत्यक्ष मारमा पर्न जाने बताए ।

आसन्न नेपाल भ्रमण बर्ष २०२० समेतलाई मध्यनजर राखी यस प्रकारका निर्णय कार्यान्वयनमा जानु पूर्व घनिभूत छलफल गरी कार्यसम्पादन गरिनु पर्ने माग बैठकले गरेको छ ।

यसैबीच, बैठकमा पर्यटन ऐन २०७५ को मस्यौदामाथि पनि छलफल भयो । सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषको बारेमा संघकी प्रथम उपाध्यक्ष सृजना राणाले स्पष्ट पारेकी थिइन् ।

बैठकमा महासचिव विनायक शाहले पर्यटन सग सम्बन्धित सबै संघ, संस्थाहरुको संयुक्त बैठक बसी आम व्यवसायीले उठाइरहेको विषयमा मन्त्रालय, महानगरपालिका लगायतका निकायहरुको ज्ञापनपत्र बुझाई संघको तर्फबाट ध्यानाकर्षण गरिएको बारेमा विस्तृत जानकारी गराए ।

त्यसैगरी, कार्यसमिति सदस्य प्रविणबहादुर पाण्डे, युवराज श्रेष्ठ तथा कानुनी सल्लाहकार गान्धी पण्डित लगायतले पनि धारणा सहित सुझाव पेश गरेका थिए ।


क्लिकमान्डु