नगरप्रमुखको तलब मजदुर हितकोषमा, ३० जना मजदुरको निःशुल्क बीमा



भद्रपुर । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गरेका छन् ।

नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हितकोषमा प्रमुख पोखरेलले एक वर्षको पाश्रिमिक बापतको तीन लाख ४० हजार जम्मा गरेका हुन् ।

पाँच वर्षमा एक करोड कोषमा जम्मा गर्ने गरी शुरु गरिएको हितकोषमा हाल २० लाखभन्दा बढी जम्मा भइसकेको उनको भनाइ छ । उनले नगरपालिकाको १५ लाख र आफ्नो तलबबापत दिएको सो रकमसहित मजदूरबाटै सङ्कलन गरिएको रकम हितकोषमा भएको जानकारी दिए ।

उनका अनुसार आपत्विपत् तथा अप्ठ्यारोमा परेका मजदूरलाई सघाउने उद्देश्यले स्थापना गरेको हितकोषमा नगरका प्रत्येक मजदुरले महीनाको एक दिनको पारिश्रमिक बापतको रकम जम्मा गर्दै आएका छन् ।

प्रमुखकै संयोजकत्वमा बनेको समितिले मजदूर बिरामी भएमा, कार्यस्थलमै दुर्घटनामा परी अङ्गभङ्ग भएमा वा देहावसान भएमा सो हितकोषको ब्याजबाट सहयोग गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । नगरपालिकाले नगरका ३० जना मजदूरको १० लाखका दरले निःशुल्क बीमासमेत गरिदिएको छ ।

यसैगरी कनकाई नगरपालिकाले गाडी किन्नका लागि छुट्याएको बजेट सडक निर्माणमा लगाएको छ । नगरले गत आव २०७४÷७५ मा गाडी खरीद शीर्षकमा रु ४० लाख बजेट छुट्याएको थियो । सो रकमबाट नगरले गाडी खरीद नगरेर सडक निर्माण गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

उहाँले तत्कालीन कनकाई गाविसले नै २०७० सालमा किनेको गाडीले काम चलिरहेको हुँदा तत्काल गाडी आवश्यक नरहेको बताउनुभयो । नौ वटा वडा रहेको कनकाईका वडा नं १, २, ३, ४ र ५ का वडाध्यक्षले जनताको सेवा निजी मोटरसाइकलमा चढेर गरिरहेका छन् ।


क्लिकमान्डु