गोठाटारको भद्रकाली पेट्रोल पम्पबाट उपभोक्ता ठगिए, व्यवसायीले विभागको निर्देशन अटेर गरे



काठमाडौं । काठमाण्डौको गोठाटारमा रहेको भद्रकाली पेट्रोल पम्पलाई वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपभोक्तालाई ठगी गरेको भन्दै कारबाही अघि बढाएको छ ।

सो पम्पले सफट्वेर जडान गरिएको मेसिनबाट १५ एमएलसम्म कम पेट्रोल वितरण गरेको भन्दै विभागको अनुगमन टोलीले नयाँ ऐन अनुसार तत्काल २ लाख जरिवाना सहित कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

व्यवसायी यशु प्रधानले गोठाटार सहित ४ वटा पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन्, अब विभागले अरु ४ वटा पम्पमा पनि निगरानी बढाएको छ ।

विभागको टोलीले अनुगमन गर्दा गोठाटारको पम्पबाट उपभोक्ता ठगीमा परेको पाइएपछि कारवाहीको प्रक्रिया अघि बढाएको थियो, पम्प सञ्चालन प्रधानले १ लाख रुपैयाँ धरौटी राखेर पुनरावलोकनका लागि निवेदन विभागमा निवेदन दिएका थिए, पम्पबाट ठगी भएको पुष्टी भएपछि ७ दिनभित्र बाँकी १ लाख बुझाउन निर्देशन दिइएको थियो ।

तर, सञ्चालक प्रधानले विभागको निर्देशन अटेर गर्दै अदालतमा रिट दायर गरेपनि अदालतले हालसम्म स्टे अडर नदिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।

व्यवसायी प्रधानका गोठाटारको भद्रकाली, सोह्रखुट्टेको जय कुमारी, स्वयम्बु चोकको हामा, थानकोट जाने बाटोमा काठमाडौं आयल स्टोर र सानेपामा एक गरी ५ वटा पेट्रोल पम्प रहेको छ । विभागले प्रधानको नाममा रहेको पेट्रोल पम्पहरु सबैमा आपूर्ती बन्द गर्न निर्देशन दिएको गौचनले बताए ।

१५ प्रतिशत पम्पमा अटोमेसिन जडान
पेट्रोल पम्पमा जडान गरिने यस्ताको अटोमेसिन भारतबाट भित्राउने क्रममा सफ्टवेयर सहित आयात हुने गरेको छ । नेपालमा यस्ता अटोमेसिनबाट सञ्चालन गर्ने पेट्रोल पम्पहरु १५ प्रतिशत रहेको अनुमान गरिएको छ ।

आफ्नै पेट्रोल पम्प हुनेले भन्दा भाडामा पेट्रोल पम्प सञ्चालन गरेकाहरुमा यस्तो कैफियत पाइने गरेको गौचनको भनाई छ । हाल उक्त अटोमेसिन आयातमा हाल रोक लगाइएको उनले जानकारी दिए ।

८२९ वटामा अनुगमन, २७ वटामा शिलबन्दी
विभागले चालु आर्थिक वर्षको ४ महिनाको अवधि कात्तिक मसान्तसम्ममा ८ सय २९ वटा अनुगमन गरेको छ । ती मध्ये २७ वटालाई शिलबन्दी गरेको र ५ वटाको कारोबार रोक्का गरेको विभागले जानकारी दिएको छ । नयाँ ऐन आएपछि विभागले १४ वटा फर्महरुलाई २ लाख रुपैयाँसम्मको कारबाही गरेको छ ।


क्लिकमान्डु