बुधबार बैकर्स संघको बैठक बस्ने, के होला ब्याजदरमा गरिएको भद्र सहमति ?



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठक भोलि (बुधबार) बस्ने भएको छ । बुधबारको बेठकले यसअघि ब्याजदरमा गरिएको भद्र सहमति खारेज गर्ने संभावना रहेको एक बैंकका सीइओले जानकारी दिए ।

‘बैंकहरुले लामो समय ब्याजदरमा सहमति गरेर बस्नु हुँदैन भन्ने कुराहरु उठिरहेका छन्, संभवत बुधबारको बैठकले भद्र सहमति खारेज गर्न सक्ने संभावना छ,’ ती सीइओले क्लिकमाण्डूसँग भने ।

कतिपय बैंकका सीइओहरुले २/४ दिनमै बैंकर्स संघको भद्र सहमति तोडिन्छ र बढी ब्याजमा मेरो बैंकमा निक्षेप राख्नु भन्दै ठूला र संस्थागत निक्षेपकर्ताकहाँ पुगेर मार्केटिङ गरिरहेका छन् ।

यसअघि बसेको संघको बैठकमा केही बैंकरले भद्र सहमतिका कारण आफूहरुलाई समस्या परेको भन्दै गुनासो गरेका थिए । एउटै ब्याजदर भएपछि खासगरी नयाँ र साना बैंकको कल डिपोजिट अर्को बैंकमा सरेको छ ।

उक्त बैठकपछि बैंकर्स संघले राष्ट्र बैंकमा पत्राचार नै गरेको थियो । त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडासँग भटेर बैंकर्स संघका पदाधिकारीहरुले कुरा राखेका थिए ।

केही बैंकरहरुबाट भद्र सहमति खारेज गरेर ब्याजदरलाई खुल्ला छाड्नुपर्ने धारणा आएको भन्ने कुरा सुनेपछि अर्थमन्त्री खतिवडाले ऋणको ब्याजदर १२ प्रतिशतभन्दा माथि नबढाउने गरी काम गर्नु भन्ने सुझाब दिएका थिए ।

राष्ट्र बैंकले भद्र सहमति खारोज गर्ने विषयमा सहमति दिइनसकेको बैंकरहरु बताउँछन् ।

‘राष्ट्र बैंक र अर्थ मन्त्रालयले भनेपछि नै हामीले ब्याजदरमा भद्र सहमति गरेका हौं,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘अहिले पनि राष्ट्र बैंक र अर्थ मन्त्रालयले खुल्ला गरिदिनु भन्छ भने हामी खुल्ला गर्छौं ।’

केही बैंकहरुले आफ्नो स्वाथ्र्यका लागि यस्तो हल्ला चलाएको हुनसक्ने ढुंगानाको भनाई छ ।

‘भोलिको बैठकमा भद्र सहमतिबारे कुनै विषय नै छैन, केही समयपछि हुने बैंकर्स संघको साधारणसभाको बारेमार छलफल छ,’ ढुंगानाले भने, ‘कसैकसैले भद्र सहमति खारेज हुँदैछ भनेर प्रोपोगाण्डा मच्चाइरहेका छन्, यस्ता कुरा तपाईंहरुले पनि बुझिदिनुपर्छ ।’


क्लिकमान्डु