मन्त्री महासेठ भन्छन्-सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्छ



धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् ।

मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आज महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले अहिले तत्काल रेल्वेको उद्घाटन हुने कुनै किसिमको कार्यक्रम तय नभएको बताए ।

जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर-जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे ।

मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विशुद्ध धार्मिक भ्रमणमात्र हुने बताउँदै यही मङ्सिर २६ गते रेल्वेको उद्घाटनको कार्यक्रम नभएको प्रस्ट पारे । उनले भने, “रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसका लागि मूल्य पनि पठाइसकेको छ, भारतले पठाएको मूल्य सरकारले स्वीकार गरेर पत्राचारसमेत गरिसकेको छ ।”

मन्त्री महासेठले आगामी महीनाभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–विजलपुरा हुँदै बर्दिवाससम्म रेल सञ्चालन हुने बताए ।

मन्त्री महासेठले आउने चार वर्षमा दुई हजार ८०० किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र एक हजार २०० किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताए ।


क्लिकमान्डु