आगामी असारमा विजुली उत्पादन गर्ने हिमालय ऊर्जाको प्रगति यस्तो देखियो (भिडियो रिपोर्ट)
रामेछाप । पछिल्ला दिनमा ऊर्जा नदीको रूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल ३ जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् ।
हिमालय ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका २ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ती आयोजना आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
शुरुमा आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण प्रक्रिया जारी रहेको र प्रसारणलाइनसमेत निर्माणको क्रममा रहेकाले असार पुग्न सक्ने आयोजना प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।
प्रबन्धक दुलालका अनुसार रामेछापमा निर्माणाधीन माथिल्लो खिम्ती एक र माथिल्लो खिम्ती दुई आयोजनाको भौतिक निर्माण ८० प्रतिशतभन्दा माथि रहेको छ । माथिल्लो खिम्ती एक १२ मेगावाट क्षमताको हो भने माथिल्लो खिम्ती दुई ७ मेगावाटको हो ।
बाँध क्षेत्रको संरचना निर्माणको काम अन्तिम चरणमा छ । बाँधबाट विद्युत्गृहसम्म ल्याइने तीन हजार ८०० मिटर लामो पाइप बिच्छ्याउने काम समेत ८५ प्रतिशत सम्पन्न भएको छ ।
पाइप बिछ्याउन ५०० मिटर मात्रै बाँकी छ । आयोजनाको विद्युत्गृहको काम पनि अघि बढेको छ । त्यसमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याउन शुरु गरेको छ । एकसाथ निर्माण भइरहेका दुई आयोजना सम्पन्न हुँदा ३ अर्ब १५ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
उक्त दुई आयोजनाको विद्युत् २०७६ असारबाट गर्जाङमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा जोडिन लागेको हो ।