कुखुराको मासु र अण्डा सस्तियो, भारतीय बजारबाट मासु भित्र्याउदा किसान प्रभावित



चितवन । कुखुराजन्य उत्पादनको मूल्यमा निकै गिरावट आएपछि किसान प्रभावित भएका छन् । अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिको जानकारी अनुसार एउटा अण्डाको लागत मूल्यभन्दा बिक्री मूल्य दुई रुपैयाँ प्रतिगोटा कम छ । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दैनिक ३५ लाख गोटा अण्डा उत्पादन हुने गर्दछ । अण्डाबाट किसानले दैनिक ७० लाख नोक्सान व्यहोरिरहेको उनले बताए ।

सङ्घले हाल फार्म मूल्य प्रतिक्रेट ठूलो अण्डा २३० र मझौला अण्डा २०० तोकेको भए पनि बजारमा ठूलो अण्डा २०० को हाराहारी र मझौला १८० हाराहारीमा बिक्री भएको कँडेलले बताए । अण्डाको लागत मूल्य नौ रुपैयाँ पर्ने गर्दछ । जसबाट लेयर्स कुखुरा पाल्ने दुई हजार किसानले नोक्सान व्यहोरिरहेको उनले बताए ।

नेपालमा कुखुरापालन क्षेत्रमा ७० अर्ब लगानी रहेको व्यवसायी बताउँछन् । यसको आधा हिस्सा लेयर्स कुखुरा पालनमा लगानी भएको छ । आधाभन्दा बढीमा बैंकको ऋण रहेको छ । कँडेलले किसान बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको बताए ।

उनले भने, “अब तीन महीना यस्तै रह्यो भने आधा किसान व्यवसायबाट विस्थापित हुन बाध्य हुन्छन् ।” उता कुखुराको मासुको मूल्य अत्यधिक घटेपछि बोइलर कुखुरापालक किसान पनि प्रभावित बनेका छन् । कुखुरापालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेलले किसानले मासुमा प्रतिकिलो ४० नोक्सान व्यहोरिरहेका बताए ।

फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो १३५ मा बिक्री भइरहेको छ । लागत मूल्य प्रतिकिलो १७५ पर्ने उनको भनाइ छ । देशभरमा ४० हजारभन्दा बढी कृषक बोइलर कुखुरा पाल्छन् । चल्ला, दानाको मूल्य बढी तिरेर पनि कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्दा निकै नोक्सान व्यहोर्नु परेको उनले बताए ।

सङ्घले दाना उत्पादन सघ, ह्याचरी उद्योग सङ्घ र सप्लायर्ससँग सहयोगको आह्वान गरेको भए पनि कसैले चासो नदेखाएको उनले बताए ।

देशका ठूला कोल्ड स्टोर्सले सस्तोमा कुखुरा खरिद गरेर गोदाम भर्ने र महङ्गो मूल्यमा मासु बिक्री गर्ने गरेका कारण किसान मर्कामा परेका बताइएको छ । यसका साथै अवैध रुपमा भारतीय बजारबाट मासु भित्र्याउदा पनि किसान प्रभावित बनेका पौडेलको भनाइ छ ।

आन्दोलनमा उत्रिने चेतावनी

यस्तै अवस्था रहे किसानले शुरुमा चल्ला उठाउन बन्द गर्ने, त्यसपछि दाना रोकेर आन्दोलन थाल्ने उनले चेतावनी दिए । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्लाको मूल्यमा समेत गिरावट आएको छ । ७५ प्रतिगोटा बिक्री हुँदै आएको बोइलर चल्ला ५५ देखि ६० मा झरेको छ, भने १७० मा बिक्री हुँदै आएको लेयर्स चल्ला ७५ मा झरेको छ ।

मासुको मूल्य बजारमा बढी भएपनि किसानले जिउँदो कुखुराको मूल्य कम पाएको पोखरेलले बताए । बजारमा २५० भन्दा बढीमा तयारी मासु बिक्री हुँदासमेत किसानको फर्ममा जिउँदो कुखुराको मूल्य निकै कम रहेको छ ।

आपसीे प्रतिस्पर्धाले मूल्यमा गिरावट
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष समेत रहनुभएका पोखरेलले अण्डा उत्पादक किसानको आपसीे प्रतिस्पर्धाले मूल्यमा गिरावट आएको बताए । बजार व्यवस्थित हुन नसकेमा दीर्घकालीन रुपमा कुखुरा व्यवसाय प्रभावित हुने भन्दै उनले किसानबीचको एकता र राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।


क्लिकमान्डु