ऋणपत्रमा १० प्रतिशतभन्दा बढी ब्याज नदिन राष्ट्र बैंकको दबाब



काठमाडौं । १० प्रतिशतभन्दा बढी ब्याज दिएर ऋणपत्र निष्काशन नगर्न नियामक नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दबाब दिन थालेको छ ।

कर्जा योग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले ऋणपत्र बिक्री गरेर स्रोत जुटाउने नीति लिएका छन् । बैंकहरुले धमाधम राष्ट्र बैंकसँग ऋणपत्र निष्काशनको अनुमति लिइरहेका छन् ।

‘दशैंअघिसम्म राष्ट्र बैंकका अधिकारीहरु ऋणपत्रको ब्याजदर बारे बोल्दैन थिए, तर अहिले १० प्रतिशतभन्दा माथि ब्याज नदिन दबाब दिइरहेका छन्,’ एक बैंकरले क्लिकमाण्डूसँग भने ।

बैंकहरुले ऋणपत्र निष्काशनका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । ऋणपत्रको ब्याजदरको बारेमा राष्ट्र बैंकलाई जानकारी मात्रै गराए पुग्छ ।

तर, पछिललो समय ऋणपत्र स्वीकृति गराउने क्रममा नै राष्ट्र बैंकका अधिकारीहरुले १० प्रतिशतभन्दा बढी ब्याज नदिन अनौपचारिकरुपमा आग्रह गर्छन् ।

‘महंगोमा ऋणपत्र किन्दा दीर्घकालीनरुपमा लागत बढ्ने र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ, त्यसैले तपाईहरु ब्याजदरमा संयमित भइदिनु पर्यो भन्दै अप्रत्यक्षरुपमा दबाब आइरहेको छ,’ राष्ट्र बैंकका अधिकारीहरुको भनाई उदृत गर्दै ती बैंकरले भने ।

स्वीकृति लिएर बसेपनि कतिपय बैंकहरुले अहिले बजारमा बढी ब्याजदर भएकाले ऋणपत्र निष्काशन नगरी बसेका छन् । बैंकहरुले ७ देखि १० वर्षे अवधिका लागि ऋणपत्रको स्र्वकृति लिएर बसेका हुन् ।

सरकारी खर्च बढे आगामी केही महिनामा बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुने अनि ब्याज घट्ने र घटेको ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने धेरै बैंकको योजना छ ।


पुष्प दुलाल