केन्द्रिय क्याम्पस किर्तिपुरमा अब निःशुल्क वाइफाइ, १० करोड खर्चेर प्रविधिमैत्री बनाइने



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ ।

त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र विद्यार्थीलाई सूचनामा सहज पहुँच पु¥याउनका लागि त्रिविलाई पहिलोपटक निःशुल्क वाइफाइ क्षेत्र घोषणा गर्न थालिएको त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले जानकारी दिए ।

‘त्रिविका हरेक कामकारवाही सूचना प्रविधिमार्फत गर्नका लागि निःशुल्क वाइफाइ क्षेत्र बनाउन लागिएको हो,’ उनले भने ‘अब त्रिविका हरेक क्रियाकलाप सूचना प्रविधिबाट हुन्छ ।’

त्रिविलाई कागजविहीन बनाउन र विद्यार्थीलाई सूचना प्रविधि प्रयोग गरेर शिक्षा प्रदान गर्नका लागि वाइफाइ क्षेत्र बनाउन थालिएको निर्देशक प्राडा पोखरेलले बताए ।

उनकानुसार अबको एक महीनाभित्र त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने छ ।

यसका लागि त्रिविले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । अहिले त्रिवि क्षेत्रभित्र सवै स्थानका वाइफाइका लागि अप्टिकल फाइबर बिछ्याउने कामसमेत द्रूतगतिमा भइरहेको छ ।

अप्टिकल फाइबर बिछ्याउने काम एक महीनाभित्र सकिने र त्यसपछि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गरिने छ । त्रिविलाई सूचना प्रविधिमैत्री बनाउनका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।

‘अब इन्टरनेटमा खोजेर पनि विभिन्न विषयको अध्ययन गर्नुपर्दछ, विद्यार्थीलाई पनि पठनपाठनमा सजिलो होस् भनेर इन्टरनेट आवश्यक पर्ने भएकाले निःशुल्क वाइफाइ बनाउन थालिएको हो,’ उनले भने ।

विद्यार्थीले त्रिविमा गएर आफूलाई अनुकूल हुने पाठ्यक्रम सामग्री, पाठ्यक्रम र अन्य सामग्री खोज्न सक्नेछन् ।

निश्चित क्षेत्रसम्म वाइफाइ हुनेछ र त्रिविको क्षेत्रमा प्रवेश गर्नासाथ सबैको कम्युटर, ल्याबटप र मोबाइलमा निःशुल्क इन्टरनेट हुनेछ । विद्यार्थीले त्रिविको जुनसुकै ठाउँमा बसेर पनि आफूलाई चाहिएको पाठ्य सामग्री इन्टरनेटबाट पढ्न सक्ने छन् ।

पहिलो चरणमा त्रिविको केन्द्रीय क्याम्पसमा निःशुल्क वाइफाइ घोषणा गरेपछि विस्तारै देशभरिका आफ्ना आंगिक क्याम्पसमा यो योजना लागू गर्ने लक्ष्य रहेको निर्देशक प्राडा पोखरेलले जानकारी दिए । उनका अनुसार त्रिविले दोस्रो चरणमा उपत्यकाका आंगिक र तेस्रो चरणमा देशभरिका आंगिक क्याम्पसमा यो योजना लागू गर्नेछ ।

स्मार्ट बोर्ड

त्रिविले केन्द्रीय क्याम्पसलाई सूचना प्रविधियुक्त माध्यमबाट शिक्षा दिनका लागि मार्कर र बोर्डको सट्टामा ‘स्मार्ट बोर्ड’ समेत प्रयोगमा ल्याएको छ । शिक्षा, व्यवस्थापन र विज्ञान सङ्कायमा स्मार्ट बोर्डको शुरुआत गरेको त्रिविले जनाएको छ । रासस


पुष्प दुलाल