दक्षिण एसिया मै सस्तो नेपाली जुत्ता, तर सबै नेपालीले किन लाउँदैनन् ?



काठमाडौं । नेपाली जुत्तालाई दक्षिण एसिया मै सस्तो मानिन्छ । नेपालमा पाइने गुणस्तरको जुत्ता नेपाल बाहेक दक्षिण एसियाली देशहरुमा ४० प्रतिशतसम्म महंगो पर्न जाने फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष कुष्णप्रसाद फुँयाल बताउछन् ।

‘नेपालमा जुन गुणस्तरका छालाका जुत्ता उत्पादन हुन्छन् त्यो गुणस्तरको जुत्ता न भारतमा पाइन्छ न चीनमै पाइन्छ,’ फुँयालले भने ।

वर्षेनि नेपालबाट सबा अर्ब मूल्य बराबर छालाका जुत्ता निर्यात हुने गरेको फुँयालको भनाई छ । नेपालबाट विषेश गरी भारत र नेपाली बसोबास गर्दै आएका खाडी मुलुकहरुमा निर्यात हुने गरेको उनी बताउँछन् । नेपालबाट विदेशमा गोल्डस्टार जुत्ताहरु निर्यात समेत हुने गरेका छन् ।

तर, नेपालको जुत्ता निर्यात बढ्न भने सकेको छैन् । ‘आयात प्रतिस्थापना गर्ने प्रयासमा फुटवेयर एशोसिएसन लागेको छ, पहिला नेपालको माग पूरा गर्ने तयारीमा छौँ, त्यसपछि निर्यातमा जोड दिने योजना छ,’ फँुयालले भने ।

नेपालमा बन्ने छालाको जुत्ता १ हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्मा बिक्री हुन्छन् । यस क्षेत्रमा ३५ देखि ४० अर्ब रुपैयाँको हाराहारीमा लगानी रहेको छ । बाँसबारी छाला जुत्ता स्थापनासँगै निजी क्षेत्रले यो व्यवसायमा हात हालेको हो ।

नेपालमा संगठित असंगठित गरेर १ हजार ५ सय १ बढी जुत्ता उद्योग रहेका छन् । जुत्ताको ५० प्रतिशत माग स्वदेशी उत्पादनले धानेको फुँयालले बताउँछन् । अन्य जुत्ता विदेशबाट आयात हुने गर्छ ।

नेपालमा उत्पादन गरिने जुत्ता ६ महिनादेखि १ वर्ष वारेन्टी सहित बिक्री हुने गरेको र गुणस्तरीय कच्चा पदार्थबाट बन्ने गरेको उनले बताए ।

बाहिरबाट सस्तो मूल्यमा जुत्ताहरु आउँछ । विगतमा न्यून मूल्याङ्कनमा भन्सार भएर आउने गरेपनि पछिल्लो समय भने भन्सारमा सुधार भएको उनले बताए ।

के छन् नेपाली जुत्ता व्यवसायीका समस्या ?

पछिल्लो समय नेपाली जुत्ता उत्पादकको मूल समस्या भनेको दक्ष जनशक्तिको कमी हुनु हो ।

‘सबै दक्ष कामदार खाडीमा गएका छन्, अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्नका लागि डिजाइन र फिनिसिङको दक्ष जनशक्तीको आवश्यक छ,’ फुँयालले भने ।

नयाँ नयाँ प्रविधि ल्याउन बढी खर्चिलो हुने उनको भनाई छ । उद्योगहरुले बैंकबाट ऋण लिंदा चर्को ब्याजको सामना गर्नुपर्ने हुन्छ । फुँयालले भने– ‘सरकारले सार्वजनिक खरिद ऐन ल्याएको छ । त्यसमा सकेसम्म स्वदेशी सामान किन्नुपर्ने भनिएको छ । तर, त्यो कागजमा मात्र सीमित छ ।’

सरकारी कर्मचारीहरुले नेपाली जुत्ता किनेपनि नेपालको व्यापार फस्टाउने सम्भावना रहेको उनले बताए । ‘हामी आम नेपालीको खुट्टामा नेपाली जुत्ता पुर्याउनका लागि के-के गर्नुपर्छ, त्यसमा लागि परेका छौँ,’ फुँयालले भने ।


क्लिकमान्डु