भक्तपुर र झापामा सवारी दुर्घटना, ३ जनाको मृत्यु



काठमाण्डौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा गएराती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।

ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमि संचारशाखाले जानकारी दिएको छ ।

तीब्रगतिमा आएको टिपरले बालकोट हँुदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रत्यक्षदर्शी राजाराम खत्रीले जानकारी दिए ।

यता, झापा मेचीनगर नगरपालिका-१२ मा हिजो साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेची नगरपालिका १२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बिर्तामोड-५ का २७ वर्षीया मञ्जुल बराइली र स्कुटर चालक मेचीनगर-१० का २४ वर्षीय युवराज खत्रीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको वा६९प ७९९४ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आइरहेको मे१०प ६६६४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु