उर्जामन्त्री पुन भन्छन्-अबको गन्तव्य विकास



काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धी भएको बताएका छन् । स्क्यापको २८ औ वार्षिक उत्सव कार्यक्रममा मंगलवार बोल्दै मन्त्री पुनले अवको गन्तव्य नै विकास भएको दोहोर्याए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सवैको सहयोगको आवश्यकता रहेको बताए ।

‘प्रधानमन्त्रीज्यूले दीर्घकालीन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सही होईन, हामीले यो बीचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौ, छिट्टै देखिने गरी अरु काम हुन्छ ।’ कार्यक्रममा बोल्दै मन्त्री पुनले भने ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरिका नै बदल्ने गरी काम गरिरहेको दावी गरे ।
विगतमा सरकार अस्थिर हुँदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धीका लागी जाने बताए । उनले वर्तमान सरकार पाँच वर्षका लागी चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा समेत राखे ।
‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न, तर हामी सवैले विगत जस्तो अस्थिर सरकार हो काम नगरेपनि हुन्छ भन्ने नसोचांै, यो सरकार स्थायी सरकार हो । हामीले मुलुकका लागी आ–आफ्नो ठाउंबाट योगदान दिनैपर्छ ।’ मन्त्री पुनले भने ।
उनले धेरैले अरुलाई आरोपित मात्र गर्ने तर, आफुलाई प्राप्त जिम्मेवारी पूरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको बताए ।
मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग वसाल्न नसकेको प्रशंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दावी गरे ।
कार्यक्रममा उनले उर्जा मन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने विजुली भारत र वङ्गलादेशलाई बेच्ने जानकारी समेत दिए ।


क्लिकमान्डु