लखनऊ-जनकपुर बस सेवा शुरु, जनकपुर-अयोध्या बस सेवा नियमित भएन



काठमाण्डौ । भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ ।

उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ । लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ । लखनऊबाट दिउँसो २ बजे हिँड्ने बस ६९२ किलोमिटर यात्रा पूरा गरी भोलिपल्ट बिहान ६ बजे जनकपुर आइपुग्ने छ ।

उक्त दुरीमा यात्रु भाडा भारतीय ९२८ कायम गरिएको छ । जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले भारत सरकारले जनकपुरसम्म बस पठाएपनि नेपालका तर्फबाट बस सञ्चालनका विषयमा टुङ्गो लाग्न नसकेको बताए ।

जनकपुरबाट बस छुट्ने समयबारे छलफल चलिरहेको उनले जानकारी दिए । यता, गत वैशाख २९ गते जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरेपनि उक्त बस सेवा नियमित हुन सकेको छैन् ।


क्लिकमान्डु