ब्याजदर बराबर भएपनि ठूला बैंकको भन्दा साना बैंकको ‘डिपोजिट ग्रोथ रेट’ राम्रो (तथ्यांकसहित)



काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकमा पनि सानो पोर्टफोलियो भएका र नयाँ बैंकहरुले पूराना र ठूला बैंकको बराबर ब्याजदर दिएन निक्षेप उठाउन आफूहरुलाई कठिन भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

आइतबार बसेको नेपाल बैंकर्स संघको पूर्ण बैठकमा केही साना र नयाँ बैंकका सीइओहरुले ठूला बैंकसँग एउटै दरमा निक्षेप लिनु परेकाले आफूहरुलाई समस्या परेको बताएका थिए ।

आफूहरुसँग भएको संस्थागत निक्षेप ठूला र पूराना बैंकमा गएको भन्दै सीइओहरुले आक्रोश पोखेका थिए । उनीहरुले बैंकर्स संघको नेतृत्व ठूला बैंकको पक्षपोषणमा लागेको आरोप समेत लगाउन भ्याए ।

झट्ट हेर्दा साना र नयाँ बैंकका सीइओहरुको यो तर्क सहि हो । तर, तथ्यांकले भने उनीहरुको तर्कभन्दा पुष्टि गर्दैन ।

ठूला, पूराना र एलिट क्लासका बैंकका रुपमा नविल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंकलगायतलाई लिइन्छ ।

साना र नयाँ बैंकको रुपमा सिभिल, मेगा, जनता, सेञ्चुरीलगायतलाई लिइन्छ ।

सानिमा, एनआइसी एशिया, एनएमबि, माछापुच्छ्रे, सिटिजन्स लगायतका बैंकलाई मध्यम खालका बैंकको रुपमा लिइन्छ ।

राष्ट्र बैंकबाट एकै स्तर अर्थात् क वर्गको इजाजत पाएर पनि बजार हेर्ने धारणा माथि भनिएजस्तै हो ।

अब तथ्यांकलाई हेरौं ।

भद्र सहमतिले साना र नयाँ बैंकलाई अफ्ठ्यारो पार्यो भन्ने तर्क यथार्थपरक छ कि छैन भन्ने कुरा स्वयं बैंकहरुले प्रकाशित गरेको पछिल्लो ३ महिनाको वित्तीय विवरणले नै प्रष्ट पार्छ ।

गत असार मसान्तदेखि पुस मसान्तसम्म एनआइसी एशिया बैंकलेबैंकले सबैभन्दा धेरै निक्षेप बढाएको छ भने एसबिआइ बैंक धेरै निक्षेप बढाउने बैंकको सूचिमा दोस्रो नम्बरमा छ । ३ महिनामा एनआइसी एशियाले ११ अर्ब २८ करोड ३१ लाख रुपैयाँ निक्षेप उठाएको छ । यो गत असार मसान्तको भन्दा ७.४२ प्रतिशतले बढी हो भने गत वर्षको असोज मसान्तको भन्दा ५७.५८ प्रतिशतले बढी हो ।

त्यस्तै, एसबिआइ बैंकले ३ महिनाको अवधिमा १० अर्ब २५ करोड १४ लाख रुपैयाँ निक्षेप उठाएको छ । यो गत असार मसान्तको भन्दा १२.५१ प्रतिशतले बढी हो भने गत वर्षको असोज मसान्तको भन्दा ९.०६ प्रतिशले बढी हो ।

ठूलो, पूरानो र एलिट मानिएको नविल बैंक भने यो ३ महिनाको अवधिमा धेरै निक्षेप बढाउने बैंकहरुको सूचिमा तेस्रो नम्बरमा छ । यो अवधिमा नविल बैंकले ७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ निक्षेप बढाएको छ । यो गत असार मसान्तको भन्दा ५.३९ प्रतिशतले बढी हो भने गत वर्षको असोज मसान्तको भन्दा १६.३९ प्रतिशतले बढी हो ।

अर्को ठूलो र पूरानो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले यो ३ महिनाको अवधिमा जम्मा ०.८१ प्रतिशतले मात्रै निक्षेप बढाएको छ । असार मसान्तकोभन्दा इन्भेष्टमेन्ट बैंकले१ अर्ब १४ करोड रुपैयाँ मात्रै बढी निक्षेप संकलन गरेको हो । वार्षिकरुपमा हेर्दा पनि गत वर्षको असोजदेखि यो वर्षको असोजसम्ममा बैंकले जम्मा ७.५५ प्रतिशतले मात्रै निक्षेप बढाएको छ ।

एभरेष्ट बैंकको वृद्धिदर पनि कम नै छ । एभरेष्ट बैंकले यो ३ महिनाको अवधिमा ३ अर्ब ९१ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तको भन्दा यो ३.३६ र गत वर्षको असोज मसान्तको भन्दा २१ प्रतिशतले बढी हो ।

विदेशी लगानीको स्ट्याण्र्ड चार्टर्ड बैंकको भने हालत खराब छ । गत असार मसान्तको भन्दा यो असोज मसान्तमा बैंकको निक्षेप १ अर्ब ९१ करोड रुपैयाँले अर्थात् २.८४ प्रतिशतले कमी हो । गत वर्षको असोज मसान्तको तुलनामा भने यो ८.३३ प्रतिशतले कम हो ।

३ महिनाको अवधिमा प्रभु बैंकले ५ अर्ब ७६ करोड ४९ लाख रुपैयाँ निक्षेप बढाएको छ । यो गत असारको भन्दा ५.९३ र गत वर्षको असोज मसान्तको भन्दा २४.३४ प्रतिशतले बढी हो ।

गत असार मसान्तको भन्दा यो असोज मसान्तमा ग्लोबल आइएमइ बैंकले ६ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ निक्षेप बढाएको छ । यो गत असारको भन्दा ६.३१ र गत वर्षको असोजको भन्दा ६.२२ प्रतिशतले बढी हो ।

३ महिनाको अवधिमा सिटिजन्स बैंकले २ अर्ब ६९ करोड रुपैयाँले निक्षेप बढाएको छ । यो गत असारको भन्दा ४.४३ प्रतिशतले र गत वर्षको असोज मसान्तको भन्दा २०.११ प्रतिशतले बढी हो ।

सरकारी लगानीको कृषि विकास बैंकको पनि हालत खराब छ । गत असारको भन्दा यो असोजमा कृषि विकास बैंकको निक्षेप १ अर्ब ९२ करोड रुपैयाँले घटेको छ । प्रतिशतमा हेर्दा यो १.८४ प्रतिशतले कम हो ।

त्यस्तै, अर्को सरकारी बैंक नेपाल बैंकको हालत झन खराब छ । ३ महिनामा यो बैंकको निक्षेप ६ अर्ब ४० करोड रुपैयाँले घटेको छ । प्रतिशतका आधारमा यो ६.४१ अंकले कम हो ।

नयाँ र साना मानिने जनता मेगा, सेञ्चुरी र सिभिल मध्ये ३ बैंकको वृद्धिदर राम्रो छ भने एक बैंकको घटेको छ ।

सिभिल बैंकले गत असारको भन्दा यो असोजमा ५९ करोड रुपैयाँले कम निक्षेप संकलन गरेको छ । प्रतिशतका आधारमा यो १.४७ प्रतिशत हो ।
नेपाल बंगलादेश बैंकको ९८ करोड ३३ लाख अर्थात् २.०५ प्रतिशतले घटेको छ भने हिमालयन बैंकको ३ अर्ब अर्थात् ३.५१ प्रतिशले बढेको छ ।

त्यस्तै, जनता बैंकले ३ महिनाको अवधिमा २ अर्ब ७१ करोड ८६ लाख रुपैयाँले निक्षेप बढाएको छ । प्रतिशतका आधारमा यो ४.५२ प्रतिशत हो । एक वर्षको तुलना गर्ने हो भने यो वृद्धिदर २०.३७ प्रतिशतले बढी हो ।

त्यसैगरी, गत असारदेखि असोजसम्ममा ८७ करोड २७ लाख रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । ३ महिनाको तुलनामा यो १.४२ प्रतिशतले र एक वर्षको तुलनामा ३७.५३ प्रतिशतले बढी हो ।

त्यस्तै, यो ३ महिनाको अवधिमा मेघा बैंकले पनि २ अर्ब ६२ करोड रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । यो ४.१३ प्रतिशतले बढी हो । वार्षिकरुपमा हेर्दा मेगा बैंकको निक्षेप वृद्धिदर ६५.९३ प्रतिशतले बढी हो ।

ब्याजदरमा बैंकर्स संघले गरेको भद्र सहमतिका कारण पछिल्लो ३ महिनामा बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर उस्तै छ ।

‘त्यसो भए ब्याजदर उस्तै हुँदा ठूला र पूराना बैंकको निक्षेपको वृद्धिदर साना र नयाँ बैंकभन्दा बढी भएन त ?’ जनता बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्री प्रश्न गर्छन्– ‘भद्र सहमतिले साना र नयाँ बैंकलाई अफ्ठ्यारो पार्यो भन्ने तर्क यथार्थपरक छ कि छैन भन्ने कुरा स्वयं बैंकहरुले प्रकाशित गरेको पछिल्लो ३ महिनाको वित्तीय विवरणले नै प्रष्ट पार्छ ।’

त्यस्तै, ३ महिनाको अवधिमा माछापुच्छ्रे बैंकले ५ अर्ब ५१ करोड अर्थात् ७.६० प्रतिशत, सानिमा बैंकले ६ अर्ब ९६ करोड अर्थात् ६.२७ प्रतिशतले र सनराइज बैंकले ८ अर्ब ४२ करोड अर्थात् १५.५१ प्रतिशतले निक्षेप बढाएका छन् ।

साना र नयाँ मानिने बैंकबाट ठूला र पूराना बैंकमा निक्षेप गएको भए यस्तो वित्तीय विवरण नआउने बताउँछन् उनी ।

‘सबै निक्षेप ठूला र पूराना बैंकमा जानुपर्ने होइन र ? खै त्यस्तो त भएको छैन,’ क्षेत्री भन्छन् ।

एक बैंकको निक्षेप अर्को बैंकमा जानु स्वभाविक भएको उनको भनाई छ ।

आफ्नो बैंकको निक्षेप अर्कोमा गयो भन्दैमा बर्बाद भइयो भनेर रोइलो गर्नुभन्दा पनि तथ्यांक हेरेर विश्लेषण गर्ने कि ?


पुष्प दुलाल