उल्लेख्य नाफा बढेपछि प्रभु बैंकको सेयरमा लगानीकर्ताको चाप



काठमाडौं । दशैंपछि लगातार जसो प्रभु बैंकको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । यसैबीचमा बैंकले उल्लेख्य नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । जसले पनि लगानीकर्ताको आकर्षण बढेको अनुमान गरिएको छ ।

बैंकले चालू आर्थिक वर्षको तीन महिनामै ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ३४ करोड ८७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको पहिलो तीन महिनाको भन्दा बैंकले यो वर्षको पहिलो तीन महिनामा २५ करोड रुपैयाँले नाफा बढाएको छ ।

बैंकले चालू आर्थिक वर्षमा २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने लक्ष्य राखेको छ । पहिलो त्रैमासिक वित्तीय विवरणले बैंकको उक्त लक्ष्य सहजै पूरा हुने संकेत गर्छ । जसले पनि लगानीकर्ताहरुलाई आकर्षित गरेको हुन सक्छ ।

८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले २ अर्ब बढी नाफा कमायो भने लगानीकर्तालाई २०÷२२ प्रतिशत लाभांस दिन सक्छ । अहिलेको अवस्था कुनैपनि बैंकले २०/२२ प्रतिशत लाभांस दिनु भनेको निकै धेरै राम्रो हो ।

संभवत यसैको प्रभाव प्रभु बैंकका लगानीकर्ताहरुमा परेको हुनुपर्छ ।

दशैंपछि बजार खुलुको पहिलो साता नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै रकम र सेयर कारोबार गर्नेमा प्रभु बैंक परेको थियो ।

तिहारपछिको पहिलो हप्तापनि प्रभु बैंककै सबैभन्दा धेरै सेयर कारोबार भएको छ भने बढी रकम पनि प्रभु बैंककै रहेको नेप्सेले जनाएको छ ।

यो सताभरमा प्रभु बैंकका २ लाख ९५ हजार कित्ता सेयर ७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । धेरैपटक कारोबार हुने कम्पनीमा भने ६ सय ७८ पटक कारोबार गर्दै प्रभु बैंक तेस्रो स्थानमा छ । कारोबार संख्याका आधारमा यो सता प्रभु भन्दा अघि कालिका पावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावर कम्पनी छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता प्रभु बैंक टप टेनमा पनि परेको छैन । पुँजीकरणका आधारमा ११ अर्ब ६२ करोड गर्दै नेपाल टेलिकम पहिलो नम्बरमा छ भने ७ अर्ब ६० करोड गर्दै नबिल बैंक दोस्रो, ६ अर्ब ७६ करोड कारोबार गर्दै इन्भेष्टमेन्ट बैंक तेस्रो स्थानमा छ ।

पछिललो एक महिनामा प्रभु बैंकको सेयर मूल्य पनि केही बढेको छ । खरिद चाप बढेपछि एक महिनाको अवधिमा प्रतिकित्ता २०/२५ रुपैयाँले बैंकको सेयर मूल्य बढेको हो ।

अहिले यो बैंकको एक कत्तिा सेयर किन्न २ सय ५७ रुपैयाँ लाग्छ । बैंक्को पछिल्लो ९० दिनको औषत मूल्य प्रतिकित्ता २ सय २६ रुपैयाँ छ । ९० दिनमा बैंकका ५५ लाख ८१ हजार कित्ता सेयर १ अर्ब २६ करोड ५८ लाख रुपैयाँमा किनबेच भएका छन् ।

सस्तो मूल्यमै सेयर किनेर राम्रै प्रतिफल पाइने संभावना देखेपछि बैंकको सेयरमा लगानीकर्ताहरु आकर्षित भएको हुनसक्ने अनुमान गरिएको छ ।


पुष्प दुलाल