बैंकरलाई तरलताको तनाबः ६ वाणिज्य बैंकको निक्षेप नै घट्यो



काठमाडौं । संस्थागत निक्षेपकर्तालाई बढी ब्याज नदिने बैंकको निक्षेप घटेको छ । बैंकहरुमा कर्जायोग्य पुँजी (तरलता) को अभाव भएको मौका छोपेर संस्थागत निक्षेपकर्ताले बढी ब्याज मागेका थिए ।

आधार ब्याजदर (बेस रेट) मा असर पार्ने भन्दै बढी ब्याज दिन नमान्ने बैंकहरुको बेस रेट घटेको हो । वित्तीय प्रणालीमा पैसाको अभाव भएपछि खासगरी संस्थागत निक्षेपकर्ताले बढी ब्याजको बार्गेनिङ गरेका थिए ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका १६ बैंकमध्ये ६ बैंकको निक्षेप घटेको छ । नेपाल बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड बैंक, सिद्दार्थ बैंक, एनसीसी बैंक र एनबी बैंकको निक्षेप घटेको हो ।

गत असार मसान्तको तुलनामा नेपाल बैंकको निक्षेप ६ अर्ब ४० करोड अर्थात् ६.४१ प्रतिशतले घटेको छ । ०७५ असार मसान्तमा ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकले ०७५ असोज मसान्तमा ९३ अर्ब ४३ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ ।

त्यस्तै, ०७५ असार मसान्तमा १ खर्ब ४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको कृषि विकास बैंकको निक्षेप असोज मसान्तसम्म आइपुग्दा १ अर्ब ९२ करोडले घटेर १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँमा झरेको छ । तीन महिनाको अवधिमा बैंकको निक्षेप १.८४ प्रतिशतले घटेको हो ।

‘संस्थागत निक्षेपकर्ताले बढी ब्याजदर माग गरि मुद्दति निक्षेप नवीकरण गर्न अनुरोध गरेकोमा आधार दरमा चाप पर्नसक्ने दृष्टिगत गर्दा नविकरण नगरेका कारण निक्षेप दायित्वमा कमी आएको छ,’ बैंकले प्रकाशित गरेको विवरणमा भनिएको छ ।

त्यसैगरी, ०७५ असार मसान्तमा १ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको सिद्दार्थ बैंकले असोज मसान्तमा १ खर्ब २५ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ । तीन महिनाको अबधिमा बैंकको निक्षेप १ अर्ब ५९ करोड अर्थात् १.४७ प्रतिशतले घटेको हो ।

त्यसैगरी, ०७५ असार मसान्तमा ६७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०७५ असोज मसान्तमा ६५ अर्ब ४७ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ । तीन महिनाको अवधिमा यो बैंकको निक्षेप १ अर्ब ९१ करोड अर्थात् २.८४ प्रतिशतले घटेको हो ।

त्यस्तै, ०७५ असार मसान्तमा ६३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको एनसीसी बैंकले ०७५ असोज मसान्तमा ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । तीन महिनाको अवधिमा बैंकको निक्षेप ६७ करोड ६७ लाख अर्थात् १.०७ प्रतिशतले घटेको हो ।

त्यसैगरी, ०७५ असारमा ४८ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको एनबी बैंकले ०७५ असोज मसान्तमा ४७ अर्ब ६ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ । तीन महिनाको अवधिमा यो बैंकको निक्षेप ९८ करोड ३३ लाख अथात् २.०५ प्रतिशतले कमी हो ।

 Bank  Ashwin 075/ Ashad 075/       Growth This Quarter
Nepal Investment      141,211,670     140,071,167      1,140,503 0.81%
Everest      120,339,181     116,427,784      3,911,397 3.36%
Global IME      111,469,063     104,850,510      6,618,553 6.31%
 Prabhu      103,024,596       97,259,665      5,764,931 5.93%
 Agricultural Dev      102,626,483     104,546,021     (1,919,538) -1.84%
 Siddhartha      100,253,140     101,748,243     (1,495,103) -1.47%
 Nepal Bank        93,431,456       99,831,378     (6,399,922) -6.41%
Sanima        84,163,245       79,196,339      4,966,906 6.27%
 Machhapuchchre        77,984,863       72,474,720      5,510,143 7.60%
Sunrise        75,792,475       67,366,128      8,426,347 12.51%
Kumari        72,498,235       69,677,722      2,820,513 4.05%
Mega        66,119,878       63,498,999      2,620,879 4.13%
Standard Chartered        65,470,922       67,387,757     (1,916,835) -2.84%
Citizens        63,387,255       60,696,027      2,691,228 4.43%
Janata        62,887,908       60,169,305      2,718,603 4.52%
Nepal Credit & Commerce        62,843,028       63,519,763       (676,735) -1.07%
Century        62,370,912       61,498,188        872,724 1.42%
Nepal Bangladesh        47,069,645       48,052,953       (983,308) -2.05%

निक्षेप आकर्षित गर्न महंगो ब्याज नदिएका कारण आफ्नो बैंकको निक्षेप घटेको बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘बजारमा पैसा छैन, केही भएका संस्थागत निक्षेपकर्ताहरुले महंगो ब्याज मागे, हामीले दिएनौं, तयसैले उनीहरु अर्कै बैंकमा गए,’ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘बैंकर्स संघले भद्र सहमति गरेको थियो, म आफैं अध्यक्ष भएर सहमतिभन्दा दायाँ बायाँ गर्नु पनि त भएन नि ।’

फेरि बढी ब्याज दिएर निक्षेप तानातान गर्दा अनावश्यकरुपमा ब्याजदर महंगो मात्रै हुने र त्यसको असर समग्र उपभोक्तामाथि पर्ने उनको भनाई थियो ।

‘ब्याजदर बढाउँदा कुनै एक बैंकको निक्षेप बढ्ला तर समग्र बैंकिङ क्षेत्रको निक्षेप बढ्दैन,’ उनले भने, ‘म समग्र बैंकहरुको निक्षेप बढाउन लडिरहेको छु ।’

नेपालको वित्तीय स्रोतले कर्जाको माग नधानेको ढुंगानाको निष्कर्श छ ।

‘नेपालमा राजनीतिक स्थायित्व आइसक्यो, आर्थिक गतिविधिहरु बढ्न थाले, लगानीकर्ताहरु कर्जा माग्न आउने क्रम बढ्यो,’ उनले भने, ‘तर, कर्जाको मागलाई धान्ने गरी निक्षेप बढेन । अब विदेशी पुँजी नल्याएसम्म आन्तरिक पुँजीले कर्जाको माग धान्दैन ।’


पुष्प दुलाल